१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शताब्दी पुरुष जोशीको इच्छामा चक्रसम्भरको तन्त्र पौभाः बन्दै

शुन्यबादको प्रतिक पौभाः चित्रलाई विश्वकला क्षेत्रमा चिनाउन जोशीको आग्रह

15.483k
Shares

काठमाडौं । तन्त्र साधनाको केन्द्र नेपाल मण्डल हो । यहाँ प्राचिन काल देखि तन्त्रको प्रभाव रहँदै आएको छ । शून्यताको बोध गराउन यौन आलिंगन गरिएको चक्रसम्भरको गोप्य पौभाः चित्र तन्त्र साधनाको एक महत्वपूर्ण अंग मानिन्छ ।

१०३ वर्षिय शताब्दी पुरुष सत्यमोहन जोशीको विशेष आग्रहमा ललितपुरको लोक साहित्य परिषदमा भव्य बज्रयानी बौद्ध तन्त्रमा आधारित चक्रसम्भरको मौलिक पौभाः चित्र बनिरहेको छ । उहाँको अन्तिम इच्छा भन्दै बनाउन लगाइएको चित्र वरिष्ठ पौभाः कलाकार लोक चित्रकारको नेतृत्वमा बनिरहेको छ ।

संम्भर र बज्रबाराहीको यौन आलिंगन गरिएको चक्रसम्भर बौद्ध तन्त्रमा एक अभिन्न अंग हो, जुन शुन्यबादको प्रतिक र जीवन बाँच्ने दर्शन पनि हो । प्राकृतिक रंगमा बनिरहेको चक्रसम्भरको चित्रमा अन्य २४ जना तान्त्रिक बौद्ध योगिनी र देवदेवीहरुको चित्र पनि बनिरहेको छ । सन्चो नभएपनि चित्र बनिरहको कोठामा नै आएर उहाँले यस चित्रको दार्शनिक पक्ष हामीलाई बताउनुभयो । चित्र शुन्यबादको प्रतिक हो यसलाई अभ्यन्तर र बाहियन्तर रुपले हेर्न सकिन्छ ।

त्यसैले पनि बौद्ध परम्परा अनुसार अभिषेक लिएर कलाकारहरुले चित्र बनाइरहेका छन् । शास्त्रले निर्देशित गरेअनुसार पाँच जना बुद्धसहित चक्रसम्भर र बीचमा बज्रबाराही रहेका छन् । दुवैजनाले काल र भैरवलाई कुल्चिएका छन् । चित्रको दायाँ–बायाँ अन्य १२–१२ जना तान्त्रिक देवदेवी देखिन्छन् । दर्शन र कलाको विशिष्ट संयोजन भएको यो नेपालको मौलिक कला हो, जुन अब गोप्य नराखिकन विश्वकला क्षेत्रमा चिनाउन आवश्यक छ ।

यो उमेरमा शुन्यताको बोध गर्दे चक्रसम्भर कै चित्र बनाउन लगाउनुले पनि जोशी ज्ञान र आनन्दको चक्रमा रमाई रहेको बुझ्न सकिन्छ । चक्रसम्भरको दर्शन अरुलाई पनि बोध गराउने उहाँको प्रयास आफैमा सरानीय छ । त्यसमा पनि दर्शन र कलाको मौलिक कलाकृति विश्वव्यापी गर्ने शताब्दी पुरुषको चाहना आफैंमा अतुल्य छ । यो पवित्र चाहनालाई सम्मानपूर्वक साथ र सहयोग दिनु सबैको कर्तव्य हो ।