१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेनाले दिएको रगतले सुत्केरीको ज्यान बच्यो


3.081k
Shares

बैतडी । नेपाली सेनाले दिएको रगतले बैतडीमा आज एक सुत्केरीको ज्यान बचेको छ ।

बच्चा जन्माउन नसकि जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राव भएर छटपटाइरहेकी दशरथचन्द नगरपालिका ४ जर्गकी २१ वर्षीया महिलाको ज्यान नेपाली सेनाले गरेको रक्तदानले बचेको हो । सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका बन्दोबस्त कार्य सिपाही लोकेन्द्र कार्कीले ती महिलाका लागि एक पिन्ट रगत दान गरेको गुल्मका गुल्मपति,सेनानी गोविन्द थापाले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेर भर्ना भएकी महिलालाई सुत्केरीपश्चात अत्यधिक रत्तश्राव भएका कारण ज्यान जोखिममा परेको थियो । ती महिलाको ब्लल गु्रप एबी पोजेटिभ रहेको र ब्लड बैंक नहुँदा सेनाको गुल्ममा खबर गरिएको थियो । सेनालाई खबर गरेपश्चात लगत्तै रक्तदान गरेपछि सुत्केरीको यान जोगिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिनुभयो ।

शल्यक्रियामार्फत बच्चा जन्माएकी ती महिलाको शरीरमा रगतको कमी भएपछि अस्पतालले सेनालाई गुहारेको थियो । पहिलो सन्तानका रुपमा महिलाले शल्यक्रियापछि बच्चा जन्माएकी छन् । यसअघि भदौ १० गते पनि सेनाले नै दिएको रगतले दशरथचन्द नगरपालिका ९ जोशीबुंगाका ४४ वर्षीय पुरुषको ज्यान जोगिएको थियो । स्वास्थ्यमा गम्भीर समस्या भएर जिल्ला अस्पतालमा भर्ना भएका ती पुरुषको हनुमानध्वज गुल्ममा कार्यरत हुद्दार लोकेन्द्र महतले दिएको रगतले ज्यान बचेको हो ।

बैतडीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगतको आवश्यकता पर्दा सेना, प्रहरी, स्वास्थ्यकर्मीकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।