१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणहिटीलाई राजतन्त्र कालको मात्रै संग्रहालय बनाउनुपर्छ : अध्यक्ष नेपाल


182
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नारायणहिटी संग्रहालयलाई इतिहासदेखि राजतन्त्रको समाप्तीसम्मको कालको मात्रै संग्रहालय बनाउनुपर्ने बताउनुभयो ।

सो संग्रहालयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाहरुको पालाको अवस्था झल्किनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष नेपालले गणतन्त्रको संग्रहालय छुट्टै बनाउनुपर्ने पनि बताउनुभयो । उहाँले नेपालमा विभिन्न जातजाति र भाषाहरु रहेको भन्दै तिनलाई जनाउने जातिय संग्रहालय पनि बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको बताउनुभयो । कामलाई अदालतले रोकिदिने र सरकार निरिह हुने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले अदालत विकासप्रेमी हुनुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा सम्भाव्यता अध्ययन नगरी गर्ने गरिएको बताउनुभयो । उहाँले विकास निर्माणको काममा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो प्रवृतिको अन्त्य हुनुपर्ने बताउनुभयो ।