१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगामा निर्वाचन खर्च नबुझाउने ९९८ उम्मेदवार कारबाहीमा


104
Shares

ओखलढुंगा । निर्वाचन कार्यालय ओखलढुंगाले गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे निर्वाचन खर्चको विवरण नबुझाउने ओखलढुंगाका ९ सय ९८ उम्मेदवारलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

निर्वाचन कार्यालयले निर्वाचन सम्पन्न भएको ३० दिनभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको हाे । कार्यालयले यहि भदौ १ गतेदेखि ७ गतेसम्म खर्चको विवरण नबुझाउने उम्मेदवारलाई स्पष्टिकरण सोधेको थियो ।

तिमध्ये २ सय ५१ जनाले सफाई पेश गरेपनि अन्य ७ सय ७४ जनाले स्पष्टिकरण दिन समेत बेवास्था गरेको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका १ हजार २ सय ४९ उम्मेदवार मध्ये १ सय ९१ जनाले भने समयमै निर्वाचन खर्चको विवरण बुझाएको कार्यालयले बताएको छ । निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोग ऐन, २०७३ अनुसार राजनीतिक दल वा उम्मेदवारले गरेको खर्च वा ५ लाखमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम निर्वाचन आयोगले जरिवाना गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, ६ महिनासम्म जरिवाना रकम नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन वा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको छ ।