
सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा शनिबार लाग्ने साप्ताहिक बजार स्थानीय उपभोक्ताहरूको लोकप्रिय बजार बनेकाे छ ।
सदरमुकाम सिन्धुलीमाडी बडा नम्बर २ का प्रत्येक साताको शनिबार लाग्ने हाट–बजारमा सस्तो उपभोग्य सामग्रीहरू खरिद गर्न स्थानीय ग्राहकहरूको भीड लाग्ने गर्दछ । सिन्धुलीमाडी बजारमा भन्दा साप्ताहिक हाट बजारमा उपभोग्य तथा खाद्य सामग्रीहरू छानेर किन्न पाईने भएकाले ग्राहकहरूको घुइँचो लाग्ने गरेको हो ।
स्थानीय ग्राहकहरूको दैनिक उपभोग्य सामग्री तथा चाडपर्व दशैं, तिहार, छठ, साउने तथा माघे संक्रान्ति लगायतका पर्वका लागि आवश्यक खाद्यान्न लत्ता कपडा र भाडाकुडा अन्य दिनको तुलनामा हाट बजारमा सस्तो रुपमा बिक्री हुने गरेको छ ।
वर्षायामको तुलनामा हिउँदका दिन सुरु भएसँगै सिन्धुलीको साप्ताहिक बजारमा तरकारी र तरकारीका विरुवाहरुदेखि श्रृंगारका सामग्रीहरु बिक्री–वितरण हुँदै आएका छन् । सिन्धुलीको स्थानीय कमलामाई नगरपालिकाको वडा नं ६ को गौमती खोलाको किनारामा स्थापना गरिएको शनिबारे साप्ताहिक बजारमा उपभोग्य सामानहरुको बिक्री वितरणबाट करिब ४ करोड बराबरको कारोबार हुने गरेको एक तथ्यांकले देखाएको छ ।
साप्ताहिक बजार स्थलमा विभिन्न व्यापारिक व्यवसायहरूका गरी २ सय वटा स्टलहरु रहने गरेका छन् । साप्ताहिक हाट बजारमा व्यापार व्यवसाय संचालन गर्ने व्यपारीहरुबाट कर लिएर स्थानीय कमलामाई नगरपालिकालाई समेत आर्थिक वृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस्