१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी


156
Shares

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सिट बाँडफाँटबारे छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका दलहरू कुन दलले कति सिट लिने र तालमेल गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् । सिट बाँडफाँटका लागि पाँचवटै दलका नेताहरू सम्मिलित कार्यदलले देशभरका निर्वाचन क्षेत्र र त्यहाँको निर्वाचन अंकगणित अध्ययन गरी शीर्ष नेताहरूमाझ प्रस्तुत गरेको छ ।

अब नेताहरू ०७४ र ०७९ को निर्वाचन परिणामका आधारमा सिट बाँडफाँट गरेर टुंगोमा पुग्ने तयारीमा छन् । त्यसबारे सहमति जुटाउन बुधबार साँझ पनि बालुवाटारमै कार्यदलका सदस्यहरूसहित बैठक बसेको थियो । तर, बैठकले निष्कर्ष भने निकाल्न सकेको छैन ।

बैठकमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमतिको प्रयास भइरहेको छ । बिहीबार नेताहरू दिनभर छलफल गर्ने र साँझसम्म सिट संख्याको विषयमा सहमति जुटाउने प्रयासमा छन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहित ती दलका शीर्ष नेताहरू र सिट बाँटफाँट कार्यदलका सदस्यहरूसमेत सहभागी छन् ।