
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताउनुभएको छ ।
बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले चलचित्रले जनक्रान्ति र कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको बताउनुभएको हो ।
उहाँले चलचित्रमा वर्गीय व्यवस्थालाई प्रोत्साहित गर्न खोजेको कुरा देखाइएको बताउनुभयो । अध्यक्ष लिङदेनले अहिलेको समाज कस्तो छ भन्ने कुरा चलिचित्रमा चित्रण गरिएको र चलचित्र अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्ने रहेको बताउनुभयो ।
उहाँले राजनीतिमा अहिले भइरहेको विकृतिलाई चित्रण गरेको तर, अब राजनीतिक दलहरूले समाजको परिवर्तन गर्न कसरी अघि बढ्ने भन्ने कुरा चलचित्रमा नदेखाएको बताउनुभयो ।
अध्यक्ष लिङदेनले केही दिनअघि मात्रै प्रदर्शनमा आएको चलचित्र माइकल अधिकारी हेर्न जाँदा अभिनेतालाई नै नचिनेको बताउनुभएको छ । चलचित्रमा अभिनय राम्रो लागेको तर, बाहिर निस्किएर फोटो खिच्दासमेत सिनेमामा भएको अभिनेता सौगात मल्ल यही हो भनेर छुट्याउन नसकेको उहाँले भन्नुभयो ।
नेपाली चलचित्र प्रकाश गत शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको थियो । सुरुवाती दिनमा चलचित्रले शो नपाएपछि निर्माण र कलाकार टिमले पत्रकार सम्मेलन गर्दै सिनेमा घरहरूले शो नदिएको भन्दै दुखेसो गरेको थिए ।
अभिनेता प्रदीप खड्का स्वयंले नै दर्शकको माग अनुसार शो नपाएको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरेका थिए । दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । दिनेश राउतको निर्देशन रहेकको उक्त चलभित्रमा अभिनेता खड्का रअभिनेत्री दीया मास्केको मुख्य भुमिका रहेको छ ।
चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको संघर्ष र मेहनतमा आधारित छ । चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्