२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सुदूरपश्चिममा गौरा पर्वको रौनक, नानी गौरा मनाइयो


78
Shares

बैतडी । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ ।

पर्व शुरु भएसंगै यहाँ रौनकता छाएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।

त्यति बेला देखि गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतीका जानकारी जयानन्द भट्टले बताउनुभयो । यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

गौरा पर्वको पहिलो दिन आज घर–घरमा महिलाले तामाका भाँडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिएको छ । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।

यहाँका महिलाले गहुँ, केराउ गहत मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ । चारदिनसम्म मनाइने गौरा पर्व तीथि घटबढका कारण यसपालि ३ दिनमात्रै हुने भएको छ । दोस्रो दिन मनाइने ‘नानी गौरा’ पनि आजै मनाइएको छ ।

ब्रतालु महिलाहरुले आजै भिजाएका बिरुडा(पाँच प्रकारका अन्न)लाई नजिकका धारा, तलाउमा लगेर धोएका छन् । आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रही आएको छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका फुनडी विष्टले बताउनुभयो ।

बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको छ । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ पख मिठोमसिनो खानुका साथै बिरुडा र फलफूल सहित ब्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गरेका छन् ।

दुर्वाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोली सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोली नै महिलाहरुले धारणा गर्ने बिशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन रही आएको छ ।

तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । गौराको समयमा सामूहिक रुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारी लगायतका सांस्कृतिक खेलहरु खेलिने गर्दछन् ।