
काठमाडौं । प्रदेश-१ को प्रदेशसभाको अन्तिम बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्ने भएकाे छ ।
प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले शुक्रबारका लागि बैठक बोलाउनुभएको हाे । साेही बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुने उहाँले बताउनुभएकाे छ । प्रदेशको नामाकरण नगरी प्रदेश-१ को प्रदेश सभाको पहिलो कार्यकाल गुज्रिने भएको छ ।
प्रदेशको नामको विषयमा छलफल नै नभई प्रदेश-१ सभाको पहिलो कार्यकाल गुज्रिदैछ । ५ वर्षे कार्यकालमा प्रदेशको स्थायी राजधानी भने घोषणा भएको छ । प्रदेशमा नामाकरणको आधार पहिचान कि भूगोल भन्ने विषयमा सहमति नजुटेपछि नामाकरणको विषयले प्रदेशसभामा प्रवेश नै पाएन ।
आगामी मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा भइसकेका कारण यो प्रदेशसभाबाट नाम आउने सम्भावना सकिएको छ । प्रदेश सरकारले शुक्रबारबाट अधिवेशन अन्त्य गर्ने निर्णय गत भदौ १२ गते नै गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्