
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई राज्यकोषबाट प्रदान गरेको रकम सतप्रतिशत सदुपयोग गर्न निर्देशन दिनुभएको छ ।
विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा शुक्रबार गृहमन्त्री खाँणले सरकारले विपद जोखिम न्युनिकरण गर्न दिएको रकम सदुपयोग गर्न प्राधिकरण क्रियाशिल हुन जरुरी रहेको बताउनुभयो । उहाँले विपद जोखिम न्युनिकरण व्यवस्थापन प्राधिकरणलाई पनि सार्वजनिक खरिद ऐन लागू हुने भन्दै प्रचलित कानून अनुसार कोषको रकम खर्च गर्नुपर्ने बताउनुभयो ।
उहाँले विपद व्यवस्थापन कोषमा भएको रकम विपदकाे समयमा नै सदुपयोग हुनुपर्ने उल्लेख गर्नु भयो । मन्त्री खाँणले प्राधिकरणको कार्यकारी समितिले गरेका सबै निर्णयहरु गम्भीरतापूर्वक कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो । गृहमन्त्री खाँणले यस वर्ष पनि वर्षाको कारण देशका विभिन्न भागमा बाढी पहिरोका कारण ठूलो क्षति भएको बताउनुभयो ।
उहाँले विपद प्राधिकरणलाई सरकारले प्रदान गरेको कोष भएपनि स्थानीय तह र स्थलगत रुपमा विपद व्यवस्थापनको लागि त्यो खालको प्राविधिक जनशक्ति व्यवस्थापन नभएको बताउनुभयो। विपद व्यवस्थापनको लागि स्थानीय गाउँपालिकाहरुलाई नै जिम्मा दिएर सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्