१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय आविष्कार केन्द्र र घरेलु तथा साना उद्योगबीच सम्झौता


676
Shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।

शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीमा प्रवद्र्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गर्नुभयो । आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण सक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ ।

सम्झौता हस्तारक्षर कार्यक्रमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसमेत उपस्थित रहनुभएको थियो । हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बडूले आविष्कार केन्द्रसँगको सम्झौताले सरकारको राष्ट्रिय नीतिलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमा समेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताउनुभयो ।

मन्त्री बडूले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै सुरु गर्दा स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उत्पादन बढाउने उद्योगहरु स्थापना गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना भएर रोजगारीको क्षेत्रमा ठूलो रुपान्तरण हुने बताउनुभयो ।

मन्त्री बडूले नेपालको स्थानीय स्तरमा नै उत्पादन बढाउनको लागि सरकारले साना साना उद्योगको योजनाहरु अगाडि बढाएको दाबी गर्नुभयो । उहाँले सात वटै प्रदेशमा बिजनेस इकोभेसन सेन्टर खोल्ने कल्पना गरेका भन्दै त्यसले उद्यम र उद्यमीहरुको सख्या बढाउने बताउनुभयो । उहाँले सरकार उत्पादन क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढने बताउनुभयो । मन्त्री बडूले उत्पादन क्षेत्रमा लागेका निजी क्षेत्रसँगको सहकार्यले मात्रै सरकारको राष्ट्रिय उद्देश्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले गाउँघरमा रोजगारीको माध्यम साना घरेलु उद्योगहरु भएको भन्दै साना उद्योगको सरकारले प्रवद्र्धन गर्नसके गाउँघरको आवश्यकता पूरा हुने र रोजगारी सिर्जना हुनेपनि बताउनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले उद्योग र उद्यमी नबढाएसम्म देशको अर्थतन्त्र नबढ्ने बताउनुभयो । उहाँले देशको अर्थतन्त्र बढ्न उद्यमीहरुले बढाएर उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । पुनले राष्ट्रिय आविस्कार केन्द्रको मुख्य उद्देश्य पनि उद्यमीहरु बढाउने भएको बताउनुभयो । उहाँले लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रसँग भएको सम्झौताले अनुसार ४० लाख रुपैयाँको सिन्के धुप र दाँत कोट्याउने सिन्का बनाउने मेसिन बनाउने योजना रहेको बताउनुभयो । उहाँले सन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने बताउनुभयो । उहाँले सम्झौता अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म सबै काम सक्ने बताउनुभयो ।

समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुने छ ।