काठमाडौं । सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले भदौ २३ गते नेतृत्व चयन गर्ने भएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबार ४ वटा समितिको सभापति चयनका लागि भदौ २३ को मिति तोकेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो । अध्यक्षको निर्देशनपछि सचिव फुयालले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । चार समितिमा चार प्रमुख दलले एक एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने समझदारी बनेको नेताहरुले बताएका छन् ।
राष्ट्रियभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले राष्ट्रिय सरोकार समितिको सभापति पाउने भएको छ । एमालेकी पार्वती रावल (दीलकुमारी) दोस्रोपटक सभापति हुने बताइएको छ । त्यस्तै दोस्रो दल माओवादीका मायाप्रसाद शर्मा प्रत्यायोजित व्यवस्था समितिको सभापति बन्ने सहमति भएको छ ।
तेस्रो दल नेपाली कांग्रेसका प्रकाश पन्थ दिगो विकास तथा सुशासन समिति र नेकपा एसका बेदुराम भुसाल विधायन समितिको सभापति हुनेगरी दलहरूबीच बाँडफाँडको समझदारी बनेको छ । राष्ट्रियसभाका तीन समितिको सभापति फागुनदेखि रिक्त थिए भने पार्वती रावलको २ वर्षको कार्यकाल सकिएर सो समिति पनि खाली थियो ।
राष्ट्रियसभाका समिति सभापतिहरुको निर्वाचन प्रत्येक २ वर्षमा हुने निमायवलीको व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्