
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज शनिबार गौरा पर्व मनाइँदै छ । भदौ शुक्ल पञ्चमीदेखि सुरू हुने पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ ।
दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।
सुदूरपश्चिमको मौलिका संस्कृतिको रुपमा रहेको गौरा पर्व भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने गरिन्छ ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरूवात गर्दछन् ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ ।
अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।
आजको दिनलाई दुर्वाष्टमी पनि भन्ने गरिन्छ । गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ ।
यसैबीच, राष्ट्रपति र प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले गौरा पर्वको अवसरमा शुभकामना दिनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसङ्गतिलाई अन्त्य गरी सभ्य, सु–संस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायत नाच नेपालका अमूल्य लोक संस्कृति भएको भन्दै गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
उहाँले ती लोक संस्कृतिले हाम्रो जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको र लोक संस्कृतिको संरक्षण र सम्वर्द्धधन गर्नु सबैको राष्ट्रिय दायित्व भएको उल्लेख गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्