६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025


कैलाली–५ मा प्रधानमन्त्री पत्नी आरजु कति सुरक्षित ?


1.391k
Shares

कैलाली । निर्वाचनको मिति घोषणासँगै कैलालीमा चुनावी सरगर्मी बढेको छ ।

त्यसमा पनि कैलाली क्षेत्र नम्बर-५ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको क्षेत्र भएका कारण बढी चर्चामा छ । जहाँ २०७४ को चुनावमा नेकपा एमाले नेता नारदमुनि रानासँग राना पराजित हुनु परेको थियो । पार्टीभित्रकै गुटबन्दीले यस पटक पनि राणालाई धोका त हुँदैन भन्ने प्रश्न खडा भएको छ ।

२०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर–५ बाट प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवालाई पराजित गर्दै नेकपा एमाले नेता नारदमुनी राना विजयी भए । कांग्रेसको गढ मानिने यो क्षेत्र नम्बर ५ मा फेरी आरजु नै चुनाव लड्ने पक्का-पक्की जस्तै छ । गत चुनावमा वाम गठबन्धन र पाटी भित्रैबाट असहयोग हुँदा राणाले चुनाव हार्नु परेको थियो ।

तर, राणालाई यस पटक पनि त्यति सहज भने छैन् । हुन त राजनीतिक समीकरणले अहिले फरक्कै कोल्टे फेरेको छ । अघिल्लो पटक वाम गठबन्धन गरी एमाले र माओवादी मिलेर चुनाव लड्दा कांग्रेस एक्लो थियो । अहिले ठिक विपरित पाँच दलीय गठबन्धन भएर एमालेलाई एक्लो पारिएको छ ।

आफूले जितेको क्षेत्रमा आरजुलाई टिकट दिइएपछि २०७४ सालको चुनावमा कांग्रेस नेता पुस्करनाथ ओझाले असहयोग गरेको आरोप खेप्नु परेको थियो । आरजुलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले कारबाही गरेको छ । यो कारबाही अहिलेसम्म फुकुवा भएको छैन् ।

ओझा अहिले स्वतन्त्र रूपमा निर्वाचन लड्ने तयारीमा छन् । स्थानीय तहको निर्वाचनमा ऐजेन्डा बलियो भएका कारण स्वतन्त्र उम्मेदवार विजय भएका कारण प्रतिनिधि सभाको चुनावमा पनि कुनै दल र व्यक्ति विशेष नभई धनगढीका जनताले यहाँको समस्या बुझ्ने नेतृत्वलाई भोट दिने नागरिक अगुवाको बुझाई छ ।

कैलाली कांग्रेसका एक नेताले भने ओझाले स्वतन्त्र लडे पनि आरजुको जितमा तगारो बन्न नसक्ने ठोकुवा गरे । वर्तमान सांसद नारदमुनी रानाले खासै काम नगरेको र पराजित भएपनि आरजु देउवाले गरेका कारमको मूल्याङकन स्थानीयबासीन्दाले गरेका कारण यस पटक आरजुको जित निश्चित भएको उनकाे दावी छ ।

धनगढी उपमहानगरभित्र पर्ने क्षेत्र नम्बर ५ मा स्थानीय तहको चुनावमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले नगर प्रमुखमा जितेकाछन् । १९ वडा रहेको उपमहानगरको १२ वटा वडामा कांग्रेस विजयी भएको थियो । कैलाली क्षेत्र नम्बर ५ मा करिब १ लाख मतदाता छन् ।

नेपाली कांग्रेसको बाहुल्य रहेपनि चुनावको नतिजा भने उल्टो आउने गरेको विगतको परिणामले देखाए पनि यस पटक भने त्यस्तो हुने देखिदैन् ।