७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


निर्वाचनपछि कांग्रेस कै नेतृत्वमा सरकार बन्छ : महामन्त्री थापा


624
Shares

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गर्नु भएको छ ।

सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाई थियो । ‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केही दिन भित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गर्नु भयो । महामन्त्री थापाले गठबन्धन दलहरुबीच सिट बाँडफाँड टुंगिने वित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताउनु भयो ।

महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिन भित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन ईकाई’ गठन गर्ने बताउनु भयो । उहाँले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टी भित्र सो इकाईको आवश्यक्ता रहेको पनि स्पष्ट पार्नु भयो ।

महामन्त्री थापाले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढन आफ्नो पार्टीले काम गरिरहेको पनि बताउनु भयो ।