२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


ओखलढुंगामा तामाखानीका दर्जनौं सुरुङ संरक्षण बिहीन


325
Shares

ओलखढुंगा । ओखलढुंगाका तामाखानीका दर्जनौं सुरुङहरु संरक्षणबिहीन भएका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका जन्तरखानीमा रहेको तामाखानी सुरुङ पुरिंदै गएका हुन् । तामा उत्खननसँग सम्बन्धित प्रमाण र सुरुङ भेटिए पनि यसको थप अध्ययन र संरक्षण हुन भने अझै सकेको छैन् । तर सम्बन्धित निकायले साेही तामाखानीकाे खोजतलास र सम्भाव्यता अध्ययन गरी संरक्षण गर्नु जरुरी छ ।

ओखलढुंगाको जन्तरखानीमा २ सय वर्ष अगाडि तामा उत्खनन् गरिन्थ्यो । यहाँको सिलतामा खानी, खानीपाखा र हरेली भीर लगायतका ठाउँबाट तामा उत्खनन गरिएको प्रमाण अहिले पनि भेटिन्छन् । भीरपाखामा तामा उत्खनन गरिएका दर्जनौं सुरुङहरु रहेका छन् । केही सुरुङ पुरिंदै गएका छन् भने केही भित्रभित्रै भत्किएर लथालिङ्ग भएको देखिन्छ । कतिपय सुरुङलाई स्थानीय आफैंले असुरक्षित महशुस गरेर आफैं पुरेको देखिन्छ ।

खानीपाखामा अझै पनि ठूलो मात्रामा तामाखानीको सुरुङबाट निकालिएको ढुंगागिटीको थुप्रो यत्रतत्र देखिन्छ । यहाँबाट निकालिएको कच्चा तामा जन्तरखानी गाउँमा गालेर जन्तरखानीकै टक्सारचौरमा पाता बनाउने गरिएको बुढापाकाहरुको भनाइ छ । जन्तरखानीमा निकालिएको तामा २ सय वर्ष भन्दा अगाडि बिगुटक्सारमा लगेर डोली पैसा काट्ने गरिएको इतिहास मै भेटिन्छ ।

जन्तरखानी क्षेत्रमा मगर, विश्वकर्मा र नेवार जातिको बाहुल्यता छ । यी जातिलाई तामा उत्खनन, प्रशोधन र व्यापारका लागि तत्कालीन समयमा यहाँ ल्याइएको अनुमान गरिन्छ । यहाँका स्थानीयले तामाखानी क्षेत्र थप अध्ययन र संरक्षणका लागि पहल गर्दै आएका छन् ।

उनीहरुले पटक–पटक तामाखानीको अवलोकन र संरक्षण गर्न सरोकारवालाहरुसँग माग पनि गर्दै आएका छन् । तर, अहिलेसम्म यहाँको ऐतिहासिकताको बारेमा कसैले न खोजतलास गरेको छ न त यहाँको संरक्षणमा नै चासो राखेको छ। यसका लागि सम्बन्धित निकायले खोजतलास र सम्भाव्यता अध्ययन गरी यसको संरक्षण गर्नु जरुरी देखिन्छ ।