
नवलपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् ।
दुवै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिनुभएकाे छ ।
उद्योगपति चौधरी कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक सदस्य हुनुहुन्छ । यस्तै, उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले ३ पटक चुनाव जित्नुभएकाे थियाे । यस पटक पनि सोही निर्वाचन क्षेत्रबाट उहाँको चुनाव लड्ने तयारी रहेकाे छ ।
साेही जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं. १ बाट ८ जना र क्षेत्र नं. २ बाट ६ जनाले आवेदन दिएको पार्टीले जनाएको छ । यसैगरी, समानुपातिकतर्फ १५ जनाले आवेदन दिएका छन् । जसअनुसार क्षेत्र नं. १ बाट ८ र क्षेत्र नं. २ बाट ७ जना रहेका छन् ।
प्रदेश सभा सदस्यतर्फ भने १ सय बढीको आवेदन परेको जिल्ला सचिव रानाभाटले बताउनुभयाे । प्रदेश सभा सदस्यका लागि आवेदन दिनेमा वर्तमान प्रदेश सभा सदस्यदेखि नगर सदस्यमा चुनाव हारेका समेत रहेको उहाँले बताउनुभयाे । आवेदन परेका सबैको नाम छनौट गरेर यहि भदौ २० गते उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्