१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण हुन्छ : मन्त्री कुँवर


3.289k
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताउनुभएको छ ।

आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शुन्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेण्टहरुमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताउनुभएको हो ।

उहाँले शून्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन शुरु गरेको बताउनुभयो । मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजिकरण गर्ने बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यरो लागेको बताउनुभयो । मन्त्री कुँवरले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताउनुभयो । उहाँले अनुगनको लागि अनुगमन टोलीले प्रमाण र पैसा केही नभेट्यो गरेको बताउनुभयो । मन्त्री कुँवरले ठगी भएको प्रमाण नभई कारबाहीको दायरामा ल्याउन नसकिएको बताउनुभयो । उहाँले अब सरकारले ठगी गर्ने एजेण्टहरु कहाँ बस्छन् खोज अनुसन्धान गरेर कानूनी कारबाही गरिने बताउनुभयो ।

मन्त्री कुवरले आइतबार चार जना श्रमिकहरुको गुनासो सुन्नुभएको छ । उहाँले वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौ नलगिएको, वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरुले मन्त्री कुँवरलाई गरेका थिए ।