
काठमाडौं । विश्वका विभिन्न मुलुकमा नेपालको पहिचान बोकेका पौभाः कला नेपालमा भने ओझेलमा परेका छन् ।
नेपालको कला सस्कृतिलाई झल्काउने पौभाःको विकास र संरक्षणका लागि सरकारी स्तरबाट कुनै पनि काम नभएपनि शताब्दी पुरुष सत्य मोहन जोशी लगायतका कलाकार पौभाः कलाकारीताको संरक्षणमा जुटेका छन् । यो बेरी शैलीको तिब्बतमा रहेको हेबज्रको पौभाः भित्ते चित्र हो । १४ औं शताब्दीमा नेवार शैलीमा नेपाली कलाकारबाट बनाइएको यी र यस्ता शैलीका पौभाः तिब्बत लगायत अन्य देशमा अहिले पनि सुरक्षित छन् ।
नेपालको गौरव बोकेका यस्ता सम्पदा विदेशमा सुरक्षित रहँदा नेपालको बहाः बहीमा पनि गोप्य रुपमा रहेका छन् । तर सर्वसाधारणबाट टाढा रहेका यस्ता पौंभाः धेरै नष्ट भइसकेका छन भने भएका कलाको जर्गेनाका लागि ठोस काम भएको देखिदैन् । नेपालको मौलिक कला बनेर विश्वमा पहिचानको रुपमा उभिएका यस्ता कलालाई भावि पुस्ताका लागि संरक्षण गर्नु पर्ने आवाज र अभियान पनि शुरु भएका छन् । जसको पछिल्लो उदाहरणको हो, शताब्दी पुरुष सत्य मोहन जोशीको कला प्रतिको अनुराग ।
वरिष्ठ पौभाः कलाकार लोक चित्रकारको नेतृत्वमा छ जना कलाकारले बज्रयानी बौद्ध तन्त्र साधनाको अभिन्न अंग चक्रसम्भरको पौभाः ललितपुरको लोक साहित्य परिषदमा बनाइरहेका छन् । संम्भर र बज्रबाराहीको यौन आलिंगन गरिएको चक्रसम्भर शून्यबादको प्रतिक र जीवन बाँच्ने दर्शन पनि हो । प्राकृतिक रंगमा बनिरहेको चक्रसम्भारको चित्रमा अन्य २४ जना तान्त्रिक बौद्ध योगिनी, दिगपालर देवदेवीहरुको चित्र पनि बनिरहेका छन ।
पाँच जना बुद्धसहित चक्रसम्भर र बीचमा बज्रबाराही रहेका छन् । दुवैजनाले काली र आलीलाई कुल्चिएका छन् । दर्शन र कलाको संयोजन भएको मौलिक कला विशिष्ट र भव्य रहेका छन । पछि स्वर्ण रंग समेत प्रयोग गरिनेछ । पौभाःले पूर्णता पाएपछि नेपालको मौलिक नेवार शैलीको पौभाः कलामा पुनजागरण काल हुने कलाकार चित्रकारको विश्वास छ । निर्माण सम्पन्न गर्न करिव ५० लाख खर्च हुने अनुमान गरिएको पौभाः साढे ५ फिट अग्लो र २२ फिट लामो रहेको छ ।
यस्तो ऐतिहासिक पौभाः बनाउन पाउँदा गर्व महशुस भएको भन्दै कलाकार मनिष कायस्थले मौलिक कला बचाउन सबेले आ–आफनो ठाउँबाट पहल गर्नु पर्ने बताउनु हुन्छ । मौलिक नेवार कलाकृतिका कारण नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्न सहयोग मिलेको थियो । तसर्थ मौलिक कलाको संरक्षण र अन्तराष्ट्रियकरणमा सरकारको पनि ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्