
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेलाई आज (सोमबार) नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे छ ।
राष्ट्रपति भवन शीतलनिवासमा साेमबार अपराह्न आयोजना हुने विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने भएकाे हाे । नेपाली सेना र भारतीय सेनाबीच एक-अर्का देशका प्रधान सेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने परम्परा रहेको छ ।
उहाँ आइतबार नेपालको पाँच दिने भ्रमणमा आउनुभएको हाे । मानार्थ महारथीको दर्जा लिएपछि उहाँ आजै सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारक गई श्रद्धाञ्जली अर्पण कार्यक्रममा सहभागी हुनुहुनेछ । उहाँले साेमबार नै सैनिक मुख्यालयमा प्रधान सेनापति प्रभुराम शर्मासँग समेत भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
उहाँले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ । भ्रमणका क्रममा उहाँले शिवपुरीस्थित कमाण्ड तथा स्टाफ कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेकाे छ । भारतीय सेना अध्यक्ष पाण्डे पोखरा र मुक्तिनाथको भ्रमणमा समेत जाने कार्यक्रम रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्