
सिन्धुली । सिन्धुली जिल्लामा ८ जना अबोध बालबालिका कानूनी विवादमा परेका छन् ।
गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा ७ जना बालक र एक जना बालिका कानूनी विवादमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको एक तथ्यांकमा पछिल्लो समयमा कानूनी विवादमा बालबालिकाहरुको संलग्नता बढ्दै गएकाे छ । सिन्धुलीमा बालबालिकाहरु जबरजस्ती करणी, लागूऔषध ओसारपसार र बाल विवाह लगायतका मुद्दामा पक्राउ पर्ने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ५ जना बालकहरु जबरजस्ती करणी सम्बन्धी कानूनी विवादमा रहेका छन् ।
एक जना बालक लागूऔषध र एक जना बालक बालविवाह सम्बन्धी कानूनी विवादमा परेका छन् । पछिल्लो समयमा बालबालिकाहरु गरीबी, पारिवारिक हेला, खराब ब्यक्तिको संगत, कुलत, राम्रो खाने लाउने रहर, जिज्ञासु हुने, इन्टरनेट लगायतका प्रविधि र सामाजिक संञ्जालको दुरुपयोग लगायतका कारण अपराधिक क्रियाकलापमा समेत संलग्न हुने यस्ता घटनाले स्पष्ट पारेको छ ।
सिन्धुलीमा बाल–बालिकाहरु अपराधिक क्रियाकलापमा संलग्न हुने क्रम बढ्दै जाँदा अपराध गर्दा पाईने कानूनी सजाय अनुमान गर्न नसकी देखासिकीका कारणले अपराधिक कार्यमा लाग्ने गरेको देखिएको छ । अक्सर घर परिवार र सामाजिक परिवेशको नकारात्मक असर पर्नु, आमाबाबुले उचित हेरचाह, संरक्षकत्व प्रदान नगर्नु, गरीबी, पारिवारिक बेमेल, झै झगडा र अभिभावक बिहीनता लगायतका कारण बालबालिकाहरु अपराधिक कार्यतर्फ उन्मुख हुने गरेको एक अध्य्यनले देखाएको छ ।
नेपालको प्रचलित कानूनले १० वर्ष मुनीका बालबालिकाले अपराध गरेका कुनै सजाय नहुने, १० देखि १४ वर्ष उमेरकाले जुनसुकै गम्भीर अपराध गरेको भएपनि ६ महिनासम्म कैद सजाय हुने, १४ देखि १६ सम्मकाले अपराध गरेमा ठूलालाई हुने सजायको आधा हुने र १६ देखि १८ वर्षसम्मकाले अपराध गरेमा ७५ प्रतिशत सजाय हुने ब्यवस्था कानूनले गरेको छ ।
बालकालिकालाई नियन्त्रणमै राखेर मुद्दाको अनुसन्धान गर्नुपर्ने भएमा पनि बालनिगरानी कक्षामा राखेर अनुसन्धान गर्नुपर्ने र अनुसन्धानको क्रममा दिशान्तर गर्न सक्ने कानूनी ब्यवस्था भएपनि त्यसको कार्यान्वयन कमै हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्