
एजेन्सी । जेलमा रहेका बलिउड फिल्म समिक्षक कमल राशिद खानको समस्या फेरि बढेको छ ।
केआरके नामले परिचित फिल्म समिक्षक कमललाई सन् २०१९ को यौन दुर्व्यवहारको आरोपमा मुम्बईको वर्सोवा प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । उनी हाल सन २०२० मा विवादास्पद ट्वीटको मुद्दामा जेलमा छन् ।
एक २७ वर्षीया महिलाले केआरके विरुद्ध उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ । उनी सन् २०१७ मा अभिनय गर्न मुम्बई आएकी थिइन् । केआरकेसँग उनको भेट एक पार्टीमा भएको थियो । त्याहाँ केआरकेले आफूलाई फिल्म प्रोड्युसर भनेर चिनाएका थिए । कुराकानीमा उनीहरूबीच नम्बर आदानप्रदान भएको थियो ।
उजुरीमा दर्ता भएको भनाइ अनुसार केआरकेले ति महिलालाई फिल्म क्याप्टेन नवाबमा मुख्य भूमिका दिने वाचा गरेका थिए। यस फिल्ममा अभिनेता इमरान हाशमी पनि रहने चर्चा भएको थियो । सन् २०१९ मा, केआरकेले आफ्नो जन्मदिन मनाउन मुम्बईको आफ्नो घरमा निम्तो दिएका थिए । तर, त्यो दिन ति महिला त्यहाँ गइनन् । केही दिनपछि उनी केआरकेको घर पगेकी थिइन् । ‘म केआरकेको घर पुगेपछि उनले मलाई आफ्नो सुत्ने कोठामा लगेर रक्सी खान भने । मेरो इन्कार पछि उनले मलाई सुन्तलाको जुस खान प्रस्ताव गरे । जुन पिएपछि मैले अस्वस्थ महसुस गरे । त्यसपछि उनले मलाई जबरजस्ती गर्न खोजे ।’ ति महिलाले आफ्नो उजुरीमा भनेकी छन् ।
यस मामिलामा केआरकेविरुद्ध आइपीसी को धारा ३५४ए र ५०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। आइतबार वर्सोवा प्रहरीले केआरकेलाई मजिस्ट्रेट समक्ष पेश गरी प्रहरी हिरासतको माग गरेको थियो। यद्यपि, मजिस्ट्रेटले केआरकेलाई न्यायिक हिरासतमा मात्र पठाएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार केआरकेलाई २ वर्ष पुरानो मुद्दामा मुम्बई प्रहरीले ३० अगस्टमा एयरपोर्टबाट पक्राउ गरेको थियो । यसपछि केआरकेलाई भारतको बोरिवली अदालतमा पेश गरियो, जहाँ उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो। सन् २०२० मा, युवा सेनाको कोर कमिटीले केआरके विरुद्ध मलाड प्रहरीमा उजुरी दर्ता गरेको थियो। कमिटी सदस्य राहुल कनालले कमलले दिवंगत अभिनेता इरफान खान र ऋषि कपुरको बारेमा आपत्तिजनक ट्वीट गरेको आरोप लगाएका छन् ।
यस मामिलामा प्रहरीले केआरकेविरुद्ध धारा २९४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो।
प्रतिक्रिया दिनुहोस्