२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस् : अध्यक्ष तिमिल्सिना


1.872k
Shares

काठमाडौं ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागेपनि गलत कुरालाई गलत भन्नसक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिनुभएको छ ।

सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरु केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताउनु भयो ।

सोही कार्यक्रममा बोल्ने क्रममा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विपरित भएको भन्दै सो विधेयक किन पारित गरेको ? भनि राष्ट्रिय सभालाई प्रश्न गर्नुभएको थियो ।

राष्ट्रियसभा आफैंले संविधानको, संघियताको बिरुद्धमा गएर विधेयकहरु पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी किन गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै प्रशन गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले दलको आदेश र ह्वीपका कारण सांसदहरुले पद खोसिने डरले पनि संघीयताको अधिकार खोस्ने विधेयकमा सहमति जनाइरहेको दावी गर्नुभयो ।

उहाँले सरकारले ल्याएका कुनैपनि विधेयकहरु फेल भएमा सरकार नरहने भन्ने चिन्ताले सबै विधेयकमा सांसदहरु पार्टीको ह्वीपका कारण सहमति जनाउन बाध्य बनेको उल्लेख गर्दै ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्र ढंगले छोड्नुपर्ने बताउनु भयो । उहाँले हालै आएको नागरिकता विधेयकमा पनि संसदमा छलफलका क्रममा बिरोध जनाएका सांसदहरु नै पास गर्ने बेलामा संसदबाटै भागेको बताउनु भयो । उहाँले कुनै डरबिना निःस्वार्थ बनेर काम गर्ने हो भने संघीयता र गणतन्त्र बचाउन सकिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले अहिले संघीयता ठिक कि बेठिक भनेर अन्तरक्रिया गर्ने बेला नभएको उल्लेख गर्दै सबलीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अहिले संघीयताको सैद्धान्तिक कुरा गर्ने बेला नभइ संघीयता आवश्यक छ भनेर प्रमाणित गर्नुपर्ने बेला भएको बताउनु भयो