
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत जडान हुने बताउनुभएको छ ।
उहाँले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत पुगेको भन्दै दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको बताउनुभयो ।
बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइन रुपन्देहीको मैनहियामा आज उद्घाटन गर्दै उर्जामन्त्री भुसालले अब सबैले विद्युतीय उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सबै क्षेत्रमा प्रयोग गरेर बढी भएको बिजुली भारत र बङ्गलादेशमा बिक्री गरिने पनि मन्त्री भुसालले बताउनुभयो ।
ऊर्जामन्त्री भुसालले विद्युतको प्रयोगले मात्रै पनि उत्पादनमा ठूलो योगदान पुग्ने बताउनुभयो । सिँचाइका लागि प्रयोग हुने विद्युत महशुलमा ७५ प्रतिशत कटौती गरिएको र यसबाट किसानलाई राहत हुने उहाँको भनाइ थियो । बुटवल–लुम्बिनी प्रसारण लाइनबाट अब यस क्षेत्रका उद्योगी व्यवसायीले मागेजति बिजुली पाउने मन्त्री भुसालले बताउनुभयो ।
अन्य आयोजना समयमै पूरा नहुने परिपाटीकाबीच यो आयोजना समयमै सम्पन्न भएको भन्दै मन्त्री भुसालले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युत्को आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना यस क्षेत्रका लागि अति नै महत्वपूर्ण रहेको भन्दै अब यो क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने उल्लेख गर्नुभयो । प्राधिकरणले अहिले मनहिया–सम्पत्तिया प्रसारण लाइन निर्माण गरिरहेकाले उक्त काम सम्पन्न भएपछि बढी भएको बिजुली भारतमा बिक्री गर्न सकिने उहाँले बताउनुभयो ।
अहिले मुलुकले विद्युत व्यापारबाट मासिक दुई अर्ब भारतीय रुपैयाँ आम्दानी गरिरहेको भन्दै घिसिङले नेपालको विद्युत दक्षिण एशियामै सस्तो रहेको दाबी गर्नुभयो । कार्यक्रमका अवसरमा १३२÷३३÷११ केभिएको मैनहिया सबस्टेशनको पनि ऊर्जामन्त्री भुसालले उद्घाटन गर्नुभएको थियो ।
नेपाल विद्युत प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण सम्पन्न गरेको हो । प्रसारण लाइनको निर्माणसँगै करिब दुईसय मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर र ३३÷११ केभी, १६ एमभिए पावर ट्रान्सफर्मर रहेका छन् ।
आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले अब भैरहवा क्षेत्रको विद्युत समस्या हटेको बताउनुभयो । स्थानीयरुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने र त्यसमध्ये चार वटा फिडरको लाइन तानिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्