१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दशैंको मुखमा संरचना हटाइनु कतिको जायज छ ?

महानगरको अभियान जारी

4.264k
Shares

काठमाडौं । काठमाडौं महानगरको डोजरसहितको टोली गोंगबु बसपार्क नजिकैको मित्रनगरमा अनधिकृत रुपमा बनाइएका संरचना हटाएको छ ।

मित्रनगरबासीले आफ्नो सूचनाको बेवास्ता गरेपछि महानगरले डोजर लगाएर संरचना हटाएको हो । महानगरले बालाजु बसपार्कको आडमा रहेको मित्रनगर क्षेत्रमा डोजर चलाएको छ । सधैं भीडभाड हुने यो क्षेत्रमा अनधिकृत रुपमा बनाइएका पसलहरु ३५ दिनभित्र खाली गराउन महानगरले सार्वजनिक गरेको सूचनाको बेवास्ता गरेपछि महानगरको डोजर सोमबार बिहान सो क्षेत्रमा पुगेको थियो ।

सूचनालाई बेवास्ता गरेपछि महानगरले पुन २४ घण्टाभित्र खाली गराउन उर्दी जारी गरेको थियो । सो उर्दीको पनि स्थानियबाट बेवास्ता भएपछि डोजर लगिएको हो । मित्रनगरका बाहिरी क्षेत्रमा रहेका सटर निर्माणस्थलको उपलब्ध गराउन नसकेपछि अनधिकृत बनाइएका संरचनामा महानगरले डोजर लगाएर भत्काएको हो । अघिपछि अटेर गरी बसेका ब्यापारीहरुले महानगरको डोजर देखेपछि भने धमाधम होर्डिङ बोर्डहरु हटाउन शुरु गरेका थिए ।

महानगरको प्रहरी टोली सोमबार मित्रनगर पुग्दा रमितेहरुको कमी थिएन । महानगरको टोलीले डोजर चलाउँदा स्थानीयले रमिता हेरेरै भएपनि साथ दिएका थिए । कोही यस अभियानलाई ठीक र कोही बेठिक भन्दै टिप्पणी गरिरहेका थिए ।

महानगरका सुरक्षा प्रमुख राजुनाथ पाण्डेसहितको टोली सो क्षेत्रमा पुगेर सटरहरु खाली गर्न निर्देशन दिँदा ब्यापारीहरुले सटर बन्द गरेका थिए । यद्दपी बन्द सटरका संरचनाहरुमाथि डोजर पेलियो व्यवसायीकै मनोमानी गतिविधिले यो अभियान निम्त्यिाएको कतिपयको बुझाइ छ ।

विभिन्न बहानामा वर्षौंदेखि सार्वजजिक जग्गा मिचेर गैरकानुनी रुपमा प्रयोग भइरहेपछि काठमाडौं महानगरपालिकाले त्यसलाई हटाउन अभियान थालेको छ । महानगरको यो अभियानलाई केहीले प्रशंसा गरेका छन् भने कतिपयले दसैंको मुखका साना व्यापारीहरुलाई उठिबास लगाएको भन्दै मेयर बालेन शाहको आलोचना पनि गरेका छन् ।

वर्षौंदेखि थाँती रहेको समस्या समाधानमा निश्चय नै जटिलता आउने नै भयो । तर यससंगै आउने बहुआयामिक समस्या सबै पक्षको गुनासो सुनेर निदान खोज्न आवश्यक छ ।