२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी प्रदान


169
Shares

काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा पाण्डेलाई मानार्थ महारथी दर्जा प्रधान गरिएको नेपाली सेनाले जनाएको छ ।

नवनियुक्त सेनाध्यक्ष पाण्डे मानार्थ महारथी दर्जा ग्रहण गर्नका लागि हिजो ५ दिने औपचरिक भ्रमणमा नेपाल आएका हुन् ।

उक्त भ्रमणदलमा पाण्डेकी पत्नी अर्जना पाण्डेसहित ५ सदस्य टोली रहेको छ । सेनाध्यक्ष पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको थियो ।

नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्ष नेपाली सेनाको महारथी रहने परम्परा छ । २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट विभूषित गरिएको नेपाली सेनाले जनाएको छ ।

भारतीय सेनाध्यक्ष भने २०१७ सालमै नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको सेनाले जनाएको छ । त्यही परम्पराअनुसार एक मुलुकका सेनाप्रमुख अर्को मुलुकको मानार्थ महारथी दर्जाबाट सम्मानित हुने परम्परा छ ।

नेपालका प्रधानसेनापति प्रभुराम शर्मा पनि अघिल्लो वर्षको भदौमा प्रधानसेनापतिमा नियुक्त भएलगत्तै भारत गएर भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित हुनुभएको थियो ।