१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दोश्रो बजार आवश्यकता कि चलखेल ?

चुनावको बेला दोश्रो स्टक खोल्नु चलखेलको समेत आशंका

143
Shares

काठमाडौं । पूँजी बजारको विकास र विस्तारको लागि भन्दै नियामक निकाय धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेज खोल्ने प्रक्रिया अगाडि बढाएको छ ।

२०६७ सालदेखि नै विभिन्न चरणमा अध्ययन भइरहे पनि अहिले यसलाई मूर्त रुप दिने प्रयास भइरहेको बोर्डको दावी छ । चुक्ता पूँजी न्यूनतम ३ अर्बसहित नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारको तयारी छ ।

धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गर्दै चुक्ता पूँजी ३ अर्ब रहने गरी नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रिया बोर्डले अगाडि बढाइरहेको छ । यसअघि विद्यमान नियमावली २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालकको न्यूनतम चुक्ता पूँजी ५ करोड भए पुग्ने व्यवस्था थियो ।

यसैगरी बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र धितोपत्र बजारको सेयरमा लगानी गर्न सक्ने व्यवस्था रहेकोमा संशोधन गरिएको मस्यौदामा यी बाहेकका अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्न सक्ने व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ । बैंक तथा वित्तीय संस्था जस्तै बनाउन प्रावधान संशोधन गरेको बोर्डको तर्क छ ।

दक्ष र अन्तर्राष्ट्रियस्तरको प्रविधि भएको नयाँ स्टक एक्सचेन्ज आएमा नेप्से समेत प्रतिस्पर्धी हुने बोर्डको तर्क छ । १२ सय बढी ठुला करदाता कम्पनी रहेकामा यसको केही प्रतिशतले मात्र बजारमा प्रवेश गरेका छन् । यसैले बजार विस्तारका लागि पनि आजको दिनमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको बोर्डको तर्क छ ।

अहिले दोस्रो स्टक एक्सचेन्ज नै नेपाली बजारको आकारका लागि आवश्यक हो होइन भन्ने तर्क भइरहेका बेला चुनावको मिति घोषणा भइसकेको अवस्थामा दोश्रो स्टक भित्र्याउन प्रक्रिया अगाडि बढ्दा यसमा स्वार्थ समुहको चलखेलको समेत आशंका बढाएको छ । तर बोर्ड अध्यक्ष हमाल भने धेरै अघि देखिको प्रयासले यतिखेर सार्थकता मात्र पाउन लागेको दावी गर्नुहुन्छ । यतिखेर नेपालमा डिम्याट खाता खोल्नेको संख्याझण्डै ५३ लाख पुगेको छ । नेपालीहरुमा शेयर बजारप्रतिको चासो र लगानी दिन प्रतिदिन बृद्धि हुदै गएको डिम्याट खाता संख्याले पनि पुष्टि गर्दछ ।

शेयर बजारबाटै आफ्नो घर खर्च चलाउनेको संख्या पनि बढ्दो रहेको छ । बजार व्यवस्थित र विस्तारका लागि दोश्रो स्टक एक्सचेन्ज आवशयकता रहेको लगानीकर्ताको पनि बुझाइ छ । मुलुकको अवस्था र विशेष शर्त राखेर बजार खोल्न दिनु पर्ने उनीहरुको सुझाब छ । बंगलादेश, पाकिस्तान लगायतका हाम्रो जस्तै प्रकृतिका अर्थतन्त्र भएका मुलुकमा पनि दुई वटा स्टक एक्सचेञ्ज रहेको सन्दर्भमा नेपालको लागि पनि आवश्यक छैन भन्न मिल्दैन होला ।

तर सर्वसाधारणको सानो सानो लगानी रहेको मुलुकको अर्थतन्त्रको ऐना शेयर बजारमा सीमित स्वार्थ समुहको चलखेल भने कदापी स्वीकार्य हुने छैन ।