
सिन्धुली । सिन्धुली केही समय यता राष्ट्रिय गौरवका ठूला आयोजनाहरुकाे ट्रान्जिट प्वाइन्ट बन्न पुगेको छ ।
जिल्लामा सडक, जलविद्युत, सिंचाई र सुरुङमार्ग लगायतका विशेषगरी संघीय राजधानी काठमाडौं नजिक काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीलाई केन्द्रमा राखेर ठूला आयोजना निर्माण भइरहका हुन् । नेपाल सरकारले वीपी राजमार्ग, सुनकोशी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजना, मदन भण्डारी राजमार्ग आयोजना र पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना सिन्धुली जिल्लाको भूगोलमा संचालन गरिएका ठूला आयोजना हुन् ।
यता रामेछाप, सिन्धुली र काभ्रे जिल्लाको सीमानामा पर्ने जलाशययुक्त सुनकोशी–२ र सुनकोशी–३ आयोजनाको समेत सम्भाव्यता अध्ययन सम्पन्न भई निर्माणको चरणमा अघि बढन थालेका छन् । सुनकोशी–१, सुनकोशी–२, सुनकोशी–३ र कोशी उच्च बाँध लगायतका संरचना निर्माण गर्दा सिन्धुलीको भू-भागको उत्तिकै महत्व देखिएको छ ।
सिन्धुलीमै निर्माणको लक्ष्य राखिएको सुनकोशी–२ र सुनकोशी–३ को बहुआयामिक महत्व रहेको र ती आयोजना निर्माण हुँदा सिन्धुली, रामेछाप र काभ्रेपलान्चोक जिल्लाका स्थानीयबासीको जीवनस्तरमाथि उठाउन र मुलुकलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । सुनकोशी–२ जलासययुक्त जलविद्युत आयोजनाले सिन्धुली र रामेछापको सीमानामा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका च्याखुटार प्रभावित भएपनि स्थानीयको दिगो व्यवस्थापनको अवधारणा ल्याईएको छ ।
सिन्धुलीबाट विगतमा खिम्ती–ढल्केबर ३३ केभी प्रशारण लाईन समेत निर्माण सम्पन्न भइसकेको छ । सुनकोशी नदीको किनारमा अवस्थित खुर्कोटमा नयाँ शहर र खुर्कोटदेखि चियाबारीसम्म सुरुङमार्ग पनि निर्माणको चरणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्