२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सत्तारूढ दलहरुबीचको भागबण्डा भोलिसम्म टुंगिने प्रचण्डको दावी

निर्वाचन प्रणाली जनता र राष्ट्रको आवश्यकता अनुकूल भएन

169
Shares

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरुबीच सिट बाँडफाँट बुधबारसम्ममा टुंगिने दावी गर्नुभएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार बिहान धनगढी पुग्नुभएका दाहालले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले १०० सिट मागेको कांग्रेसले ८० सिट वरपर मान्ने संकेत दिएको दावी समेत गर्नुभएकाे हाे । माओवादीले भने ६० लिने गरी भागबण्डा गर्न लागिएकाे उहाँले दावी गर्नुभएकाे छ । तर, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले पनि २५ मागिरहेकाले भागबण्डामा अप्ठेरो भइरहेको र त्यसलाई बुधबार शीर्ष नेताहरू बसेर टुंगो लाग्ने उहाँले बताउनुभयो ।

आफू चितवनको क्षेत्र नम्बर तीनबाटै चुनाव लड्ने पक्का रहेको भन्दै दाहालले अन्यत्रबाट आफ्नो नाम सिफारिस गर्नुको अर्थ नहुने बताउनुभयाे । उहाँले नेपालको वर्तमान निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचार बढाएको समेत बताउनुभएकाे छ । केही दिनअघि चुनावपछि सडकमा आउँछु भनेको कुरा स्मरण गर्दै उहाँले यो निर्वाचन प्रणालीविरुद्ध जानुपर्ने तर्क राख्नुभएकाे हाे ।

अहिलेकाे निर्वाचन प्रणाली र शासकीय स्वरुप चाहीं जनता र राष्ट्रको आवश्यकता अनुकूल नभएको भन्दै उहाँले निर्वाचन प्रणाली सामान्य जनताले लड्न सक्ने खालको हुनुपर्ने बताउनुभयाे । माओवादीलाई सुधार गर्नैपर्ने जिम्मेवारी रहेको उहाँले बताउनुभयाे ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने पनि उहाँले जोड दिनुभयाे । ५ वर्षमा जनताले पाउनुपर्ने विकास नपाएको उहाँकाे भनाइ थियो । वामपन्थी गठबन्धन गरेपछि आर्थिक विकास, स्थायित्व हुने र धेरै सपनाका साथ वाम एकता गरेपनि तत्कालीत प्रधानमन्त्री केपी ओलीले जनभावना कुल्चेका कारण बाध्य भएर संघर्षमा उत्रिनु परेको उहाँले बताउनुभयाे ।

फेरी देशलाई समाजवादको यात्रामा अगाडि बढाउनका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु परेको उहाँले दावी गर्नुभयाे ।