
काठमाडौं । तपाईलाई अपरिचित व्यक्तिले चिठ्ठा वा पुरस्कार पाएको भन्दै व्यक्तित वा बैंकको विवरण माग्ने गरेको त छैन ? अथवा सहजै आर्थिक लाभ हुने भन्दै वैदेशिक रोजगारी वा उच्च अध्ययनका लागि विदेश पठाउने भन्दै प्रलोभनमा त पारेका छैन । होस गर्नुहोस् ! तपाई ठगीमा पर्नुभएको हुन सक्छ ।
पछिल्लो समय विभिन्न आस्वासन देखाएर वा प्रलोभनमा पारेर ठगी गर्ने क्रम बढेको छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने अनलाइनबाट चिठ्ठा परेको देखि महंगा उपहार पठाएर पनि ठगी धन्दा हुन थालेको छ । अझ अचम्म लाग्ने कुरा के छ भने नाता केलाएर होस् वा नयाँ सम्बन्ध बनाएर पनि ठगी गर्ने क्रम बढेको छ । वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पठाउने भन्दै ठगी गर्ने प्रचलन पुरानै हो ।
त्यसगरी विभिन्न प्रलोभनमा पारेर विवाह गरेर मानव तस्करी गर्ने धन्दा पनि मौलाएको प्रहरीको दावी छ । केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनाएको एउटा समूह र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरुमध्ये तीन जनाको समूहल नक्कली शैक्षिक परामर्श केन्द्र खोलेर उच्च शिक्षाका लागि विदेश पठाउने भन्दै युवाहरुबाट ठगी गरेका छन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका प्रदीप कर्माचार्यले अर्कै व्यक्तिको नागरिकता देखाइ एभरेष्ट लिन्क इन्टरनेसनल एजुकेशन कम्पनी सञ्चालन गरेको प्रहरीले फेला पारेको छ । मुगुको खत्याड गाउँपालिकाका विशाल कार्कीले कञ्चनपुरका निरज पाण्डेको हराएको नागरिकता फेला पारेर विभिन्न बैंकमा खाता खोलेर कारोबार गरेको भटिएको छ । यिनीहरुले अरुको नागरिकता प्रयोग गरेर विभिन्न कम्पनी र तथा बैंक खाता सञ्चालन गरी ठगि गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईले बताउनुभयो ।
मुगुकै खत्याड गाउँपालिकाका बिनीबहादुर कार्कीले पर्वतका सन्दीप न्यौपानेको नागतिकता दुरुपयोग गरेर बालाजुमा मेनपावर कम्पनी खडा गरी विभिन्न बैंकमा खाता खोलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नागरिकता बाहकको अनुमति बिना अरुको फोटो टाँसेर विभिन्न कम्पनी दर्ता गरी सञ्चालन गरेको आरोपमा उनी पक्राउ परेका छन् । बैंककोसमेत लापरवाहीले ठगी भएको भन्दै प्रहरीले अनुसन्धानको गरीरहेको जनाएको छ । प्रहरीले कम्पनी रजिष्टार कार्यालयका कर्मचारीमाथि पनि छानविन गरीरहेको जनाएको छ ।
अर्को व्यक्तिको नागरिकता प्रयोग गरी कम्पनी दर्ता गर्दा नै गैरकानूनी काम भएको भन्दै प्रहरीले कम्पनी रजिष्टार कम्पनीका कर्मचारीमाथि पनि निगरानी र अनुसन्धान बढाएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि प्रहरीको छानविनलाई सहयोग गर्ने र आफ्ना कर्मचारी दोषी भए कारवाहीको भागीदार बन्ने कम्पनी रजिष्ट्रारको कार्यालयका सूचना अधिकृत शेखर कार्की बताउनुहुन्छ ।
पछिल्लो समय मौलाएका ठगी धन्दाका यी र यस्ता केही प्रतिनिधि उदाहारण मात्र हुन् । आकर्षक आम्दानीको प्रलोभनमा वैदेशिक रोजगारीमा पठाउने भन्दा मोटो रकम असुलेर सम्पर्क बिहीन हुने क्रम बढेको छ । त्यति मात्र नभइ आकर्षक उपहार र चिठ्ठाका नाममा बैंक खाता र व्यक्तिगत विवरण लिएर ब्ल्याकमेलिङ गर्ने गरेका विवरण पनि प्रहरीकहाँ पुग्ने गरेका छन् । सानो असावधानीले पैसा फस्ने मात्र नभइ नक्कली कागजात प्रयोग गरेको आरोपमा जेल सजाय पनि भाग्नुपर्ने अवस्था आउन सक्छ ।
प्रतिक्रिया दिनुहोस्