
काठमाडौं । सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउन लागेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
नेपाली पुँजी बजारमा अर्को स्टक एक्सेन्ज आवश्यक नै नभई कमिसनको खेलमा नयाँ स्कट एक्सचेन्ज भित्र्याउन लागेको उनीहरुको आरोप छ ।
प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको बताउनुभयो ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दाहालले सरकारले अहिले सञ्चालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै नयाँ आवश्यक नभएको बताउनुभयो । उहाँले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउँदा पुँजी बजारमा असर पर्ने भन्दै भएका स्टक एक्सेन्जलाई आधुनिकीकरण गर्न माग गर्नुभयो । सांसद दाहालले नेपाली पँुजी बजारमा अर्को स्टक एक्सेन्ज आवश्यक नभएकाले नयाँ स्टक एक्सेन्ज रोक्न ध्यानाकर्षण गर्नुभयो ।
उहाँले अहिले पुँजीबजारको कारोबार समेत घटेर एक अर्बमा सिमित भएका बेला नयाँ एक्सचेन्ज किन चाहिएको भनि प्रश्न गर्नुभयो । यस्तै, बैठकमा समय माग गरेर नेपाली काँग्रेसकी सांसद सुजाता कोईरालाले चीनसँगका दुई वटा उत्तरी नाकाको समस्या कुटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेका र उनीहरू आत्महत्या गर्ने सम्मको अवस्थामा पुगेकाले यस विषयमा अबिलम्ब कुटनीतिक पहल गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्