२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सरकारी निकायको उपेक्षाका कारण हरिहरपुरगढी किल्ला ओझेलमा


130
Shares

सिन्धुली । सम्बन्धित सरकारी निकायको उपेक्षाको कारणले सिन्धुलीको हरिहरपुरगढी किल्ला ओझेलमा परेको छ ।

जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा अवस्थित हरिहरपुरगढी किल्ला नेपालको इतिहासमा स्वर्णाक्षरले नामांकित किल्ला हो । हरिहरपुरगढी किल्लामा देखिएको किल्ला निर्माणको चमत्कारी नमुनाले वि.सं. १३ सय ताकाको राज्य सुरक्षा संयन्त्रको मजबुदीपनालाई झल्काउनका साथै नेपालको तत्कालीन किल्लाहरुको कला र कौशलताको उच्चतम नमुनालाई छर्लङ्ग पारेको छ ।

असंख्य अभूतपूर्व घटनाक्रमले ओतपाेत देशको ऐतिहासिक एक किल्ला आजसम्म ओझेलमै परिरहेको अवस्थामा हरिहरपुरगढी किल्लाको संरक्षण र सम्बर्धनको पक्षमा चासो र चिन्ता देखाउन सकेका छैनन् । स्व.पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानका क्रममा तात्कालीन नेपालको मध्यपूर्वको ऐतिहासिक हरिहरपुरगढीका राजा हरिसिंहदेवलाई परास्त पारिएको सोही हरिहरपुरगढी किल्ला कलात्मक र ऐतिहासिक धरोहर हो ।

तत्कालीन अवस्थामा हरिहरपुरगढीमा युद्धमा गोर्खालीहरुले हार व्यहोर्नु परेको भए नेपाल एकीरण सफल हुने थिएन । समुन्द्री सतहबाट करिब १ हजार ४ सय मिटरको उच्चाईमा महाभारत पहाडको शिरमा अवस्थित ऐतिहासिक हरिहरपुरगढी रमणीय प्राकृतिक स्थल मानिन्छ । आज हरिहरपुरगढीको माटोले हाम्रो बीरता देखाईरहेको छ । त्यहाँका किल्लाका हरेक ढुंगाहरुले नेपाली बहादुरीपन र नेपाली सुरक्षाको झल्को दिईरहेका छन् ।

इतिहासका अनुसार वि.सं.१३८७ हालको बारा जिल्लाको सिम्रौनगढमा बंगाल मुसलमानको भीषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि वि.स.१३८७ मा सिम्रौनगढका तात्कालीन शासक हरिहर सिंहदेव आफ्नी पत्नी देवलदेवी, राजकुमार जगत सिंह कुँवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरुसहित सिन्धुली जिल्लाको हरिहरपुरगढीमा लुक्न आएपछि वि. सं.१३८८ मा हरिहरपुरगढी लिल्लाको निर्माण भएको थियो ।

सोही पछि वि.सं १३८८ पाल्पाली राजा मुकुन्द सेनले हरिहरपुरगढीमा आक्रमण गर्दा राजा हरिहरसिहदेव हरिहरपुरगढींबाट ससुराली काठमाडाैंतर्फ पलायन भएको इतिहासमा उल्लेख छ । वि.सं १८०१ पृथ्वी नारायण शाह ससुराली आउँदा हरिहरपुरगढीमा भेटघाटको समारोह राखिएको थियो भने सो समारोहलाई प्रख्यात साहित्यकार गुणपति मैथुलबाट पारिवारिक समस्याको बारेमा मध्यस्थता गराईएको थियो ।

हरिहरपुरगढीबाटै वि.स.१८०१ ताका गोर्खाका तात्कालीन राजा पृथ्वीनारायण शाहले सेन वंशीय प्रस्तर लेखहरुमा हुने चन्द्र र सूर्य अनुशरण गरी वर्तमान नेपालको राष्ट्रिय ध्वजामा स्थापना गर्न सुरु गरिएको हो । वि.सं.१८१९ गोर्खाली सेनाद्वारा मकवानपुर कब्जा भएपछि दिगबन्धन सेन र मन्त्री कनकसिंह बानियाँ हरिहरपुरगढीमा लुक्न पुगेका थिए ।

तर गोर्खाली सेना हरिहरपुरगढीमा पनि पुगेकाले र दिगबन्धन सेन तथा मन्त्री कनकसिंह बानियाँद्वारा आत्म समर्पण गरियो । यता वि.सं.१८२४ पृथ्वी नारायण शाहद्वारा ईष्ट इन्डिया कम्पनीका फौजको प्रतिकार गर्ने उद्देश्यले ३ सय फौज हरिहरपुर गढीमा तैनाथ गरेको यति लामो इतिहास रहेको छ ।