
काठमाडाैं । आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणी गर्न खोज्ने एक अभियुक्त छुटाउनका लागि नेकपा एमालेका नेताहरूले दवाब दिएका छन् ।
जबर्जस्ती करणी उद्योग अभियोगमा पक्राउ परेका रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायतलाई जिल्ला अदालत रामेछापले थुनछेक बहस भएपछि पुर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला अदालतका न्यायाधीश इन्दिरा शर्माको एकल इजलासले भदाै २१ गते मंगलबारका दिन अभियुक्त पवन कठायतलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियाे ।
सञ्चार माध्यमको चर्को दवाबपछि फरार भएका कठायतलाई यहि भदौ १ गते रामेछाप जिल्ला सदरमुकाम मन्थलीबाट प्रहरीले पक्राउ गरेको थियो । साबिक रामेछाप नगरपालिका–१ गोठगाउँ घर भएका कठायत केही वर्ष अघिदेखि मन्थलीमा व्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायी हुन् ।
उनले आफ्नै भतिजी बुहारी बिनु यादवलाई मन्थली नगरपालिका–१ मच्छेडाँडीनजिकैको आफ्नै घरमा २०७५ सालदेखि अन्तिम पटक २०७९ साल वैशाख १ गतेसम्म पटक-पटक जबरजस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बुहारी बिनु यादवले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
बुहारीले प्रहरीमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गराएको थाहा पाएपछि कठायत फरार भएका थिए । फरार रहेका कठायतको खोजीमा रहेको प्रहरीले सुराकीको आधारमा सदरमुकाम मन्थलीबाट पक्राउ गरी मुद्दा चलाएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले घटनाको निष्पक्ष रुपमा अनुसन्धान हुने जानकारी दिनुभएको थियो ।
यता, पीडित बिनुले कारबाही पूरा नगरी नेताको दवाबमा अभियुक्त पवन यादवलाई छोड्ने गल्ति अदालतबाट भएको खण्डमा अदालतको मुलढोका सामु आमरण अनशन बस्ने तयारी गरेको तर अदालतको फैसला आफ्नो पक्षमा भएको कारण अनशन बस्नु पर्ने अवस्था नै नआएको बताएकी छन् । कठायतलाई छुटाउन एमालेका नेताहरू लागि परेको बिनुले जानकारी दिइन् ।
पीडित बिनुले पहिला पनि जिल्ला अदालतको इजलासमा न्यायाधीश बद्री प्रसाद ओलीको सामु बिष सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्