
काठमाडौं । केन्या विरुद्ध टि–२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किएको छ ।
क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् । नेपालले केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय शृंखला क्लिन स्विप गरेको थियो । नयाँ प्रशिक्षक मनोज प्रभाकरले पनि यही टुरबाट नेपालको प्रशिक्षकको रुपमा डेब्यु गरेका छन् ।
पूर्वकप्तान ज्ञानेन्द्र मल्ले पुनरागमनमा राम्रो प्रदर्शन गरेका थिए । नयाँ खेलाडी अर्जुन साउदले राष्ट्रिय टिममा डेब्यु गर्दै आफ्नो राम्रो प्रभाव छोडेका छन् । टि–२० शृंखलापछि नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमिय लिग खेल्न वेष्टइन्डिज गएपछि एकदिवसीयमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए ।
स्वदेश फर्किएपछि रोहितले केन्या भ्रमण समग्रमा राम्रो भएको बताएका छन् । नेपाली खेलाडीले अझै पनि ब्याटिङमा काम गरिरहेको र टिममा सुधार गर्नुपर्ने उनकाे भनाइ छ । सिनियर टिमको कप्तानी गर्नुले जिम्मेवारी बढेको उनकाे तर्क छ । रोहितले अनुभवी खेलाडी ज्ञानेन्द्र र डेब्युटान्ट अर्जनुले राम्रो खेलेको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्