
काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
उहाँले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताउनुभयो । उहाँले संगठन विधि र पद्धतीमा चल्नुपर्ने बताउनुभयो । पार्टीमा एकले अर्काको विरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृति रहेको भन्दै उहाँले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्नेकाम विद्यार्थी संगठनको अध्यक्षले गर्नु नहुने बताउनुभयो । उहाँले चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकतावद्ध भएर जानुपर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरेपनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताउनुभयो ।
अर्थमन्त्री शर्माले अहिलेको विद्यार्थी संगठनसँग कुनै एजेण्डा नभएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रको कार्यकारी नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना र पहिचानको एजेण्डा पार्टीको भएको पनि बताउनुभयो ।
उहाँले विद्यार्थी संगठनलाई वैज्ञानिक र प्रविधियुक्त शिक्षाको एजेण्डा बोक्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्