१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तीन वर्षमा मुलुक विद्युतमा आत्मनिर्भर हुन्छ : मन्त्री भुसाल


143
Shares

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाएका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री भुसालले पछिल्लो समय तीब्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने यस्तो बताउनुभएको हो ।

उहाँले चालु आर्थिक वर्षमा नेपालमा विद्युत आयात भन्दा विद्युत निर्यात बढी भइ नेपाल खुद विद्युत निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । मन्त्री भुसालले नेपालले भारतको इनर्जि एक्सेन्ज बजारमार्र्फत ३६४ मेगावटसम्मको विद्युत खरिद बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणले भारतमा निर्यात हुने विद्युत भारु ५ रुपैयाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको बताउनुभयो ।

मन्त्री भुसालले विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत निर्यात गरेको भन्दै चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत निर्यात हुने प्रक्षेपण गरिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८४ करोड विद्युत निर्यात गरेको बताउनुभयो । मन्त्री भुसालले विद्युत निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्ने बताउनुभयो ।

मन्त्री भुसालले नेपालले वार्षिक रुपमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्ष मात्रै बाँकी रहेको बताउनुभयो । उहाँले अहिलेसम्म विद्युत खरिद बिक्री सम्झौता र विद्युत उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन रहेको बताउनुभयो । उहाँले मुलुकमा विद्युत जडित क्षमता २ हजार २ सय मेगावाट पुगेको बताउनुभयो । मन्त्री भुसालले गत आर्थिक वर्षमा ७ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको भन्दै चालु आर्थिक वर्षमा करिव ८ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने प्रक्षेपण गरिएको बताउनुभयो । उहाँले जलाशययुक्त जलविद्युतको आयोजनामा निजी क्षेत्रको आकर्षण नदेखिएको बताउनुभयो । मन्त्री भुसालले जलविद्युत उत्पादनलाई तीव्रता नदिने हो भने जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न नसकिने बताउनुभयो ।