
काठमाडौं । साहित्यकार भीमनिधि तिवारीको प्रशिद्ध सामाजिक कथा आधारित चलचित्र ‘झिँगे दाउ’ कीर्तिपुरका वयोवृद्धलाई देखाइएको छ ।
सामाजिक विषयवस्तु भएका कारण देशभर सबै हलमा स्थानीय वृद्धवृद्धालाई निःशुल्क देखाइएको जानकारी चलचित्रका निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले राससलाई दिनुभयो ।
कीर्तिपुरको पाँगास्थित कीर्तिपुुर सिनेप्लेक्स हलमा देखाइएको उक्त चलचित्रमा एक आदर्श परिवार एउटा अति सामान्य कुराले पनि कसरी विग्रह हुनसक्छ भन्ने विषयवस्तुलाई उतारिएको छ ।
भीमनिधि तिवारी सामाजिक घटना क्रमलाई साहित्यमा यथार्थपरक ढङ्गले उतार्ने साहित्यकार मानिनुहुन्छ । वि.सं २००८ मा प्रकाशित उक्त कथामा दसैँको कोजाग्रत पूर्णिमाका दिन एकाघरका दुई बुहारी झिँगे दाउ भनिने सामान्य जुवा खेल्दाखेल्दै परेको विवादले ठूलो रुप लिँदा परिवार बिग्रिएर दाजुभाइ छुटिएको र वृद्ध बाबुआमाले दुःख पाएको कथा वस्तु छ ।
परिवारमा सानो कुराले ठूलो रुप लिन सक्छ त्यसलाई ठूलै मन गरी व्यवस्थापन गर्नुपर्छ भन्ने सन्देश दिएकाले वृद्धवृद्धाका लागि रोचक हुने सिनेप्लेक्सका सञ्चालक नरेन्द्र महर्जनले बताउनुभयो । कीर्तिपुरका ५० जनाभन्दा बढी वृद्धवृद्धाले सो चलचित्र हरेको जानकारी पनि महर्जनले दिनुभयो ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसालको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस्