
काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा महानगरपालिकाले बिहीबार आफ्नो क्षेत्रमा रहेका विद्यालयबाट २०७८ सालको माध्यामिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थीलाई नगद पुरस्कार वितरण गरेको छ ।
महानगरपालिकाले सुजाता ठाकुर, समृद्धि मैनाली, उन्नती निरौला र आशिश श्रेष्ठलाई नगदसहित पुरस्कृत गरेको हो । उत्कृष्ट विद्यार्थीलाई जनही एक लाख रुपैयाँ तथा सम्मानपत्र दिइएको थियो ।
त्यसैगरी ती विद्यार्थी अध्ययनरत त्रिपद्मा विद्याश्रम, सेन्ट मेरिज र जेम्स स्कुललाई पनि दुई लाख रुपैयाँका दरले पुरस्कृत गरिएको छ । देशभरका विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने ४२ मध्ये ४ जना ललितपुरका विद्यालयमा अध्ययनरत विद्यार्थी थिए ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको बताउनुभयो । विद्यार्थीले आफ्नो मेहनतले राम्रो अंक ल्याउँदा महानगरको पनि शोभा बढाएको भन्दै उहाँले विद्यार्थी, विद्यालय र अभिभावकको प्रशंससमेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्