२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिन्धुलीकाे ऐतिहासिक शिद्धबाबा स्थान संरक्षण बिहीन


26
Shares

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित महाभारत पहाड श्रृंखलाको च्याउकोट डाँडामा रहेकाे ऐतिहासिक तथा पुरातात्विक शिद्धबाबा स्थान संरक्षणबिहीन भएकाे छ ।

साेही शिद्धबाबा स्थानलाई संरक्षण र विकास गर्न जिल्लाका सरकारी तथा गैर सरकारी निकायकाे बेवास्ताका कारण संरक्षण बिहीन भएकाे हाे । विगत ६ वर्ष अगाडिदेखि माडीबजारका स्थानीय बासीन्दाहरुको सामूहिक प्रयासमा करिब ३ सय वर्ष पुरानो प्राचीन तथा ऐतिहासिक शिद्धबाबा स्थानको जीर्णोद्वार तथा पुनर्निर्माण गर्ने कार्यको थालनी गरिएपछि विगतको तुलनामा शिद्धबाबा मन्दिरमा केही सुधार भएतापनि शिद्धबाबाको उचित प्रचारप्रसार हुन भने सकेको छैन्।

समुन्द्री सतहबाट करिब १८ सय फिट उच्चाईमा रहेकाे जिल्ला सदरमुकाम सिन्धुलीमाडीको सबै भन्दा अग्लो स्थान शिद्धबाबा स्थान प्राकृतिक दृष्टिकोणले समेत अत्यन्त रमणीय रहेको छ । लामो इतिहास बोकेको सिद्धबाबा स्थानलाई पर्यटकीय रुपमा विकास गर्नसके सिन्धुली जिल्लाको आर्थिक विकासमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ ।

सिद्धबाबा स्थानमा चढाईएको करिब ३ धार्नी तौलको एउटा घण्टामा रन्जना लिपिमा १८१२ लेखिएको हुँदा त्यही आधारमा मन्दिर त्यतिबेलामा नै स्थापना भएको अनुमान गरिएको छ । सिन्धुलीको सिद्धबाबा स्थान विगतमा भत्किएकाले त्यहाँ रहेका अमूल्य मूर्तिहरु समेत चोरिएर हराएको स्थानीय बासीन्दाहरुले बताएका छन् ।

सिद्धबाबा स्थानको पुनर्निर्माण तथा मन्दिर परिसरका पुराना भौतिक संरचनाहरु पूर्ण रुपमा मर्मत सम्भार गर्ने कार्य पछिल्लो समयममा केही भएतापनि पर्याप्त रहेको छैन् । शुद्ध र पवित्र आत्माले सिद्धबाबा स्थानमा दर्शन गरी एउटा मात्र बर मागे पाइने जनविश्वासले महाशिवरात्री लगायतका धार्मिक चाड पर्वहरुमा श्रद्धालु भक्तजनको प्राय जसो घुइँचो नै लाग्ने गर्दछ ।