
सर्लाही । सर्लाहीमा उखुखेती धेरै हुने गरेको भएपनि किसानले भने यसबाट खासै लाभ लिन सकेका छैनन् ।
मिल मालिकले पैसा समयमा नदिएर मिल संचालकलाई प्रहरीले समातेर पैसा उठाउनु परेको तितो यर्थाथ रहिरहेका बेला नेपाल सरकारले दिनुपर्ने अनुदान रकम समेत समयमा उपलब्ध नगराउँदा किसान मारमा परेका हुन् । गत वर्ष उखु बेचेका उखु किसानले हालसम्म पनि भुक्तानी नपाउँदा घर व्यवहार संचालन गर्न गाह्रो भएको नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनाली बताउनुभयाे ।
यसरी नेपाल सरकारले दिने भनेको अनुदानको रकम समेत समयमा उपलब्ध नगराउँदा किसानलाई मल किनेर हाल्न समेत गाह्रो परेको मैनालीले गुनासाे गर्नुभयाे । उखु बेचेको एक वर्ष हुन लाग्दा समेत किसानले पैसा नपाउनु हास्यस्पद रहेको उहाँकाे तर्क छ । नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिसँग सहमति गर्दा १५ दिनभित्र उखु किसानलाई किसानले बेचेको उखुको भुक्तानी दिने सहमति भएपनि उनीहरुले भुक्तानी नपाउनु अत्यन्तै दु:खद कुरो भएको अर्का उखु किसान राजकुमार उप्रेतीले बताउनुभयाे ।
गत आर्थिक वर्षको लागि नेपाल सरकारले उद्योग र किसान प्रतिनिधिबीच भएको सहमति अनुसार उद्योग प्रति कुइन्टल ५ सय २० र नेपाल सरकारले ७० रुपैयाँ अनुदान रकम दिने सहमति भएको भएपनि किसानले अनुदानको रकम बापतको ७० रुपैयाँ पाउन नसकेका हुन् । उता कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीले भने चिनी उद्योगीले समयमा तथ्यांक उपलब्ध नगराएकाले किसानको खातामा पैसा पठाउन नसकेको कोष नियन्त्रक जीवन पुरी बताउनुभएकाे छ ।
उद्योगीलाई छिटो भन्दा छिटो किसानले बेचेको उखुको लागत पठाउन भनेको र उद्योगले तथ्यांक पठाउने बित्तिकै माथिलो निकायमा तथ्यांक पठायर पैसा माग्ने र पैसा आएपछि किसानको खातामा पैसा हाल्ने प्रक्रिया सुरु गरिने प्रमुख पुरीको भनाइ छ । किसानले मेहनत गरेर उत्पादन गरेको उखुको पैसा लिन सरकार र मिल मालिक दुवैसँग संघर्ष गर्नुपर्ने प्रथाको अन्त्य हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्