१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुखुरा फार्ममा बाढी पस्यो


8.008k
Shares


काभ्रे । काभ्रेको पनौती नगरपालिका–९ सुन्थान, महादेवस्थानमा रहेको कुखुरा फार्ममा बाढी पस्दा १३ लाख बराबरको क्षति भएको छ ।

बिहिबार दिउँसो दाजुभाई एकीकृत बहुउदेश्यीय फार्म नजिकै रहेको खोल्सामा आएको बाढी फार्ममा पसेको हो । बाढीका कारण ३ सय कुखुरा मरेका छन् । यस्तै कुखुरका लागि ल्याइएको दाना र भुस पनि काम नलाग्ने भएको छ । वैदेशिक रोजगारीबाट फर्केका २ जना सहित ३ जनाको संयुक्त लगानीमा फर्म संचालन गरिएको थियो । उक्त फार्ममा १३ सय ६३ वटा लेयर्स जातका कुखुरा थिए ।

चिसोका कारण बाँकी कुखुरा पनि बाच्ने सम्भावना कम रहेको फार्म संचालक कृष्ण बहादुर बस्नेतले बताउनुभयो । अण्डा बेच्ने उदेश्यले उहाँहरुले लेयर्स कुखुरा पाल्नुभएको थियो । संचालक बस्नेतका अनुसार फार्ममा दैनिक ११ सय अण्डा उत्पादन हुन्थ्यो । ६ महिनापछि गत महिनाबाट मात्रै अण्डा उत्पादन सुरु भएको थियो । अब आम्दानी गर्ने बेलामा बाढीले सखाप पारेको उहाँहरुको गुनासो छ ।

दोलखाको गौरी शंकर गाउँपालिका जुगुका तीन जना बस्नेत जाजुभाइले पनौतीमा वार्षिक ४० हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर व्यवसायिक कृषि सुरु गर्नुभएको हो । एक वर्षअघि करिव ३५ लाख लागतमा कष्ण बहादुर बस्नेत, बालकुमार बस्नेत र किशोर वस्नेतले फार्म सुरु गर्नुभएको थियो ।

कृष्ण बहादुर १० वर्ष मलेसिया बसेर फर्किनुभएको हो भने बालकुमार पनि वैदेशिक रोजगारीका लागि मलेसिया नै जानुभएको थियो । नेपालमा नै केहि गर्ने योजना सहित फर्किनुभएका उहाँहरुलाई महामारी र प्राकृतिक प्रकोपले निरुत्साहित बनाएको छ । उक्त फार्ममा एक महिना अघि मात्रै अफ्रिकन स्वाइन फिबरका कारण २ दिनको अन्तरालमा ९ वटा बंगुर मरेका थिए ।