
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सरकार विपीको सिद्धान्तअनुरूप अघि बढेको बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको १०९औँ बिपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रममा उहाँले बिपीको मूल सिद्धान्त राष्ट्रिय एकता र मेलमिलापको नीति रहेकाले अहिलेको गठबन्धन सरकार सोहीअनुरुप चलेको स्पष्ट पार्नुभयो ।
विपीले जसरी जनतालाई शक्तिशाली बनाउन लागे सोहीअनुरुप जनताको सपना साकार पार्न कांग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो । उहाँले देशमा सङ्कट देखापर्दा कांग्रेसले निकास र बाटो देखाउन महत्वपूर्ण भूमिका खेल्दै आएको र आउँदा दिनमा पनि अवलम्बन गर्दै अघि बढ्ने प्रण व्यक्त गर्नुभयो ।
अबको अभियान भनेको पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु मुख्य उद्देश्य रहेकाले पार्टीका सबै तह र तप्काबाट सक्रिय भएर लाग्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ प्रतिनिधि सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेस तनहुँका पूर्वसभापति वैकुण्ठ न्यौपानेलगायतका वक्ताले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्