
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताउनुभएको छ ।
निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उहाँले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताउनु भएको हो ।
नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्दै मन्त्री कार्कीले देश विकासको साझा लक्ष्यमा सरकारसँगै हातेमालो गरेर अघि बढन निजी क्षेत्रलाई पनि आह्वान गर्नुभयो । निजी क्षेत्र र सरकारको साझा प्रयासमा मात्रै मुलुकलाई अघि बढाउन सकिने उहाँले बताउनुभयो ।
मन्त्री कार्कीले स्वदेशी तथा विदेशी लगानी भित्र्याई मुलुकको पूर्वाधार विकास गर्न नीतिगत, कानूनी र प्रक्रियागत सुधार गर्न सरकार तत्पर रहेको पनि बताउनुभयो । पूर्वाधार विकास र उत्पादन वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणहरुको दक्षतापूर्ण उपयोग गर्न तयार रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय पूर्वाधार निर्माणमा ध्यान दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा मन्त्री कार्कीले मुलुकको पूर्वाधार विकासका लागि निजी क्षेत्रको लगानी सबैभन्दा महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्