१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कविकुञ्ज संग्रहालयको पुनर्निर्माणकाे काम अन्तिम चरणमा


143
Shares

काठमाडाैं । कविकुञ्ज संग्रहालयको पुनर्निर्माणकाे काम अन्तिम चरणमा पुगेकाे छ ।

बहुप्रतिक्षित महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित कविकुञ्ज केही समयपछि नागरिकका लागि खुल्ला हुने भएकाे हाे । नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्ज संग्रहालयको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएकाे छ । नवनिर्मित सम्पदा बनाउँदा मौलिक पहिचान नबिगारेकोे समेत प्रतिष्ठानले जनाएको छ । पुरानो घर भत्काउँदा घरपरिवारका मानिसले नै तीब्र असन्तुष्टि जनाएका थिए ।

संग्रहालय बनाउने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जको पुनर्निर्माण गरेको हो । यहि भदौ २९ गते अर्थात देवकोटा ६३ औँ स्मृति दिवस पारेर संग्रालयको उद्घाटन गर्ने तयारी गरिएपनि केहि दिन ढिलो हुने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । गत वर्ष संग्रहालय बनाउने नाममा नेपाल प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा अचानक देवकोटाको पुरानो घर भत्काउँदा विवाद र आलोचना भएको थियो ।

संग्रालय बनाउने नाममा प्रज्ञा प्रतिष्ठानले बहुमूल्य घर भत्काएको आरोप झेल्नुपरेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म घर पुतलीसडकमा रहेपनि पशुपतिको महास्नान गुठीको नाममा रहेको जग्गामा मोहीको हक पाएपछि १९९० मा देवकोटाले मैतीदेवीमा घर बनाउनुभएको थियो । सोही घरमा उहाँले आफ्ना लेखनका सिर्जनशीलका १२ वर्ष बिताउनुभएको थियो ।

विगत १६ वर्ष अघिसम्म देवकोटाको परिवार पुरानो घरमा बस्दै आएको थियो । सोही घर प्रतिष्ठानले २ करोड ५० लाख रूपैयाँमा किनेर मोहीयानी हक आफूमा ल्याएको हो । हक आफ्नो भएपछि प्रतिष्ठानले घर भत्काएर पुनर्निर्माणको कामको सुरुवात गरेको हो । प्रज्ञा प्रतिष्ठानले कविकुञ्जको स्वरुप पहिलेको जस्तै बनाएकोले आलोचना गर्नेहरु खुशी भएको दावी गरेको छ ।

१२ आना १ दाम क्षेत्रफलमा फैलिएको ८० वर्ष पुरानो देवकोटाको घर भत्काउँदा सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतकाे आदेश अनुसार प्रतिष्ठानले कविकुञ्जको पुरानो घरको स्वरुपको आधारमा भुइँतलासहित ३ तले पाखे–छाने मौलिक वास्तुशैलीमा परम्परागत निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण सुरु गरेको थियो । करिब सात करोड ११ लाख रूपैयाँको लागतमा बनाईएको भवनको निर्माणको काम सकिएपछि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयका रूपमा कविकुञ्ज नागरिक पहुँचमा पुग्ने प्रतिष्ठानले जनाएको छ ।

घरको अगाडि देवकोटाको पूर्ण कदको शालिक राखिनेछ । देवकोटा प्रकृतिप्रेमी भएकाले रूख–विरूवासहितको बगैंचा लगाउने तयारी गरिएको छ । सर्वोच्चको आदेश र स्थानीय तहको चुनावका कारण समयमा कविकुञ्ज संग्रालयको उद्घाटन हुन नसकेपनि नेपाल प्रज्ञा प्रतिष्ठानले असोजको पहिलो सातासम्म संग्रालय उद्घाटनको तयारी गरेको छ ।