
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्तागठबन्धनको बैठक पुनःनिष्कर्षविहिन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तागठबन्धनका शीर्ष नेताहरुको करिब ४ घण्टा लामो बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
बैठकमा नेताहरुले आ–आफ्नो पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । बैठकमा सिट बाँडफाँटको लागि गठित कार्यदलले हालसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराएको थियो ।
बैठकमा सिट बाँडफाँटको लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमाथी छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
सिट बाँडफाँटबारे अझै धेरै विषय मिलाउन बाँकी रहेको जानकारी दिँदै नेता खनालले सोमबार बस्ने बैठकबाट टुंगो लगाउने सहमति भएको जानकारी दिनुभयो । बैठक सोमबार बिहान ८ बजे पुनः बस्ने बताइएको छ ।
कार्यदलले करिब ९० सिटमा सहमति जुटाईसकेको दाबी गरिएको छ । बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ । ७५ सिटमा गठबन्धन आबद्ध दलहरुका दाहोरो तेहोरो दाबी परेको छ । बिहान बसेको शीर्ष नेताहरुको बैठकपनि बिनानिष्कर्ष टुंगिएपछि विवादीत विषयमा सहमति जुटाउने प्रयासस्वरुप दिउँसो ३ बजेदेखि कार्यदलको बैठक बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्