१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनअघि चार ‘एआईजी’ पद रिक्त हुँदै, ‘डीआईजी’हरू निर्वाचनको पर्खाइमा


234
Shares

काठमाडौं । नेपाल प्रहरीमा निर्वाचन अघिसम्म विभिन्न समयमा गरेर चार वटा अतिरिक्त महानिरीक्षक पद रिक्त हुँदै छ । अहिले एउटा पद रिक्त छ भने कात्तिक २५ सम्म थप दुई पद रिक्त हुने छ । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला दौडधुप र चलखेल उत्कर्षमा पुग्ने थियो । तर, निर्वाचनको मुखमा बढुवाका प्रत्यासीहरू चुपचाप छन् । निर्वाचनको परिणाम र आगामी सरकारको अन्योलबीच भावी महानिरीक्षकको दौडमा रहेका डीआईजीहरू शान्त बसेका छन् ।

विश्वराज पोखरेलपछि २२ भदौको मध्यरातिबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख रहेका मुकुुन्दकुमार आचार्यले ५६ वर्षीय उमेर हदका कारण अनिवार्य अवकाश पाइसक्नु भएको छ । यसपछि १५ कात्तिकमा अरुणकुमार बीसी र २५ कात्तिकबाट रवीन्द्रबहादुर धानुुक अनिवार्य अवकाशमा जानु हुने छ । बीसी प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभाग प्रमुख र धानुुक उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख हुनुहुन्छ ।

यो ब्याचबाट ४ फागुुनमा मानवस्रोत विभाग प्रमुख रहेकी एआईजी पूजा सिंह घर फर्कनु हुने छ भने अन्य सबै प्रहरीमा उमेर हद, सेवा अवधि र कार्यकालको विषयमा केही तल माथी नभए खण्डमा १० चैत्रको मध्यरातबाट प्रहरी महानिरीक्षक धीरजप्रताप सिहसँगै सेवा हदका कारण अनिवार्य अवकाशमा जाने छन् ।

गृहमन्त्री बालकृष्ण खाँण र बालुवाटार निर्वाचनको मुखमा निर्वाचन आयोगको सहमति लिएर रिक्त पदमा बढुवाको पक्षमा हुनुहुन्छ । उच्च सरकारी अधिकारीहरूका अनुसार २२ असोजमा नयाँ कार्यसम्पादन मूल्यांकनअनुसार पर्खेर बढुवा गर्ने कि रिक्त हुने दुई पदमा तत्काल पुरानै कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ ।

यस्तै, महानिरीक्षकको दौडमा रहेका बसन्तबहादुुर कुँवर, दीपक थापा, मीरा चौधरी, टेकप्रसाद राई, अशोक सिंह र श्याम ज्ञवालीमध्ये कुनै दुईको अहिले बढुवा गर्ने वा महानिरीक्षक सिंहकै ब्याचबाट बाँकी रहेका डीआईजीत्रय नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँलाई बढुवा गर्ने भन्ने विषयसमेत छलफलमा रहेको छ ।

प्रहरी प्रधान कार्यालयस्थित एक उच्च अधिकारीका अनुसार यतिबेला भावी महानिरीक्षकको दौडमा रहेका अधिकृतहरूले अधिकांश यो बढुवामा रुचि देखाएका छैनन् । निर्वाचनको परिणामपछि हुने बढुवा उनीहरुको रोजाइमा रहेको छ । कतै विश्वराजको नियति दोहोरिएला कि भन्ने त्रास उनीहरुमा छ । यसपटक आइजिपी सिंहकै ब्याचका तीन जनाको बढुवा गरेर निर्वाचन गराउने त्यसपछि मात्र नयाँ ब्याचको बढुवा हुने सम्भावना बढी भएको प्रहरी उच्च अधिकारीको भनाइ छ ।