
परासी । स्थानीय सरकार सञ्चालन ऐन विपरीत वडाअध्यक्षलाई कार्यवाहक दिएको भन्दै उपाध्यक्षलाई जिम्मेवारी दिन मन्त्रालयले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकालाई निर्देशन दिएको छ ।
उपाध्यक्ष फातुमा खातुन अन्सारी उपस्थिति हुँदाहुँदै कार्यपालिकाको बैठकले हप्तादिन अघि वडा नं. १ का अध्यक्ष चुल्हाई प्रसाद यादवलाई कार्यवाहकको जिम्मेवारी दिएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायको भदौ २६ गतेको सचिव स्तरीय निर्णयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड (क) र (ख) आकर्षित हुनेहुँदा अध्यक्षले कार्यभार नदिई अनुपस्थित भएको अवस्थामा सोही उपदफाको खण्ड (ख) को प्रकरण २ बमोजिम अध्यक्षको कार्यभार उपाध्यक्ष वा उपप्रमुखले सम्हाल्ने व्यवस्था भएकाले सोही बमोजिम गर्नु भनेर निर्देशन दिएको हो ।
उपाध्यक्षलाई छाडेर वडाअध्यक्षलाई जिम्मेवारी दिएपछि पालिकामा विवाद भएको थियो । त्यसपश्चात कार्यवाहकको विषयमा दुविधा उत्पन्न भएको भन्दै गाउँपालिकाले मन्त्रालयमा आवश्यक निर्देशनको माग गरेर पत्र पठाएपछि उपाध्यक्षलाई कार्यवाहक बनाउन निर्देशन दिइएको हो । पालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले स्वास्थ्यको कारण देखाएर उपस्थित हुन नसक्ने जनाउँदै कार्यवाहकको जिम्मेवारी कार्यपालिकाबाट टुङ्गाउने ब्यहोराको पत्र पठाएका थिए ।
पत्रपछि कार्यपालिकाको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपालको संविधान २०७२ को धारा २१४ को उपधारा ३ मा संविधान र अन्य कानुनको अधिनमा रही गाउँपालिका वा नगरपालिकाको शासन व्यवस्था निर्देशन र सञ्चालन गर्ने अभिभारा गाउँ कार्यपालिका वा नगर कार्यपालिको हुनेछ भन्ने उल्लेख भएको व्यहोरालाई आधार मानेर वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो ।
अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित हुन भने उपाध्यक्ष खातुन नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । कार्यपालिकामा माओवादी केन्द्रको बहुमत छ । कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका वडाअध्यक्ष कांग्रेसका हुन् । बहुमतका आधारमा आफ्नै दलका वडाअध्यक्षलाई कार्यवाहक दिदाँ असन्तुष्टी हुने भएपछि कांग्रेसका वडाअध्यक्षलाई जेष्ठ वडाअध्यक्ष भन्दै कार्यवाहकको जिम्मेवारी दिइएको बताइएको छ ।
उपाध्यक्ष खातुनले आफ्नो बिरोध गर्दै आएकाले अध्यक्ष गुप्ताले उनलाई कार्यवाहक दिन नमानेको एक जनप्रतिनिधिले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्