
सिन्धुली । सिन्धुलीमा जुनारलाई स्टोर गरी राख्ने उदेश्यले निर्माण गरिएको जुनार शित भण्डारण भवन प्रयोग बिहीन भएको छ ।
जुनार उत्पादनको समयमा शित भण्डार संचालन गराउन नसकिएपछि उत्पादित जुनारहरुलाई लामो समयसम्म स्टोर गरेर अफ सीजनमा किसानहरुले बिक्री वितरण गर्न गर्न पाएका छैनन् । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीको ढुङ्ग्रेबासमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको शित भण्डारण भवन संचालन नभएपछि कृषिजन्य उत्पादनहरु भण्डारण गरी स्थानीय किसानहरुले मुनाफा कमाउन पाएका छैनन् ।
गुणस्तरीय जुनार उत्पादनका लागि प्रख्यात मानिएको सिन्धुलीको जुनारलाई खेर जान नदिन सोही शित भण्डारण भवनको निर्माण गरिएको थियो । जापानिज सहयोगी संस्था जाईकाको कुल ६० लाख रुपैयाँकाे आर्थिक सहयोग र तात्कालीन सिन्धुली जिल्ला विकास समिति, स्थानीय कमलामाई नगरपालिका र सिन्धुली जिल्लाका कुल ५३ वटा गाउँ विकास समिति तथा विभिन्न संघ-सस्थाहरुको कुल रकम ४० लाख गरी १ करोडको लागतमा सिन्धुली जुनार विकास संघको अगुवाईमा सोही शित भण्डारण भवनको निर्माण गरिएको थियो ।
शित भण्डारण भवनको व्यवस्थित रुपमा संचालन गर्नका लागि सिन्धुलीका जुनार उत्पादन किसानले बिक्री वितरण तथा शित भण्डारण कृषि सहकारी सस्था लिमिटेड समेत गठन गरेका थिए । तर शित भण्डार नै बन्द अवस्थामा रहेको छ । शित भण्डारणको संचालनले जुनार, सुन्तला, सिन्धुली जिल्लामा उत्पादन हुने भुईकटरहरु, अदुवा र आलु लगायतका कृषिजन्य उत्पादनहरुको भण्डारण गर्न समेत सकिने थियोे । सोही शित भण्डारण भवनमा कुल ३ सय ६० मेट्रिक टन सामानहरु भण्डारण गर्न सकिने छ ।
शित भण्डारण भवन विगतमा निर्माणसँगै उत्साहित भएका कृषक यतिखेर भने निराश बनेका छन् । सिन्धुलीमा उत्पादन हुने जुनारलाई गर्मी मौसममा बिक्री वितरण गराउने उदेश्यले शित भण्डार निर्माण गरिएपनि संचालनमा नआउदा कृषक र उपभोक्ता दुवै निराश भएका छन् ।
प्रतिक्रिया दिनुहोस्