
झापा । जिल्ला प्रशासन कार्यालय झापाले दशैं नजिकिंदै गर्दा तीब्र रुपमा बजार अनुगमन गर्न सुरु गरेकाे छ ।
चाडपर्वमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको टोलीले बजारको अनुगमन गरेको हो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच साझेदारी गर्दै जिल्ला प्रशासन कार्यालयले बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकामा रहेका बजारको अनुगमन गरेको छ ।
उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीसहितकाे अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालयका टंकप्रसाद प्रसाई, विनोद प्रसाद न्यौपाने, नापतौल तथा गुणस्तर कार्यालयका मुकुन्द चौहान, खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय झापाका पंकज दाहाल र आन्तरिक राजस्व कार्यालय झापाका विशाल काफ्ले लगायत सहभागी रहनु भएको छ ।
बिर्तामोड नगरपालिकासँग सहकार्य गर्दै आज मंगलबार बिर्तामोडस्थित कृषि थोक बजारमा रहेका माछामासु पसलको अनुगमन गरिएको छ । अनुगमन टोलीले माछा मासुको गुणस्तर, नाप तौलका लागि प्रयोग गरिने ढक तराजु, सरसफाई र पसल दर्ताका विषयमा समेत निरीक्षण गरेको छ । अनुगमनका क्रममा केही पसलमा मरेका माछा बिक्री गरिरहेको पाइएकाले त्यस्ता माछा नष्ट गरिएको छन् ।
यसअघि सोही टोलीले बाह्रदशी गाउँपालिकास्थित राजगढ बजारको अनुगमन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्