
पर्वत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शीर्ष राजनीतिक दलहरू नसुध्रिएसम्म मुलुक समृद्ध नबन्ने बताउनुभएको छ ।
पर्वतकाे सदरमुकाम कुश्मा बजारमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले राजनीतिक दलका गलत क्रियाकलापहरूले नै मुलुक समस्यामा पर्दै गएको समेत बताउनुभयो । उहाँले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै शीर्ष दलहरूले भ्रष्टाचारलाई संस्थागत गर्दै लगेको समेत आरोप लगाउनुभयो । अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले ३० वर्ष भन्दा बढी शासन गरे पनि नयाँ शब्द बाहेक काममा नयाँपन ल्याउन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयाे,- ‘ठूला दलहरूसँग न मुलुक बनाउने स्पष्ट खाका छ, न रोजगारी सिर्जना, कलकारखाना संचालन, बढ्दो युवा पलायन दर घटाउने कुनै योजना छैन्’। ‘जबसम्म निर्वाचन मार्फत ठूला दलहरू पराजित हुँदैनन् तबसम्म यहि अवस्थाले निरन्तरता पाईरहन्छ ।’
ठूला दलहरूको पार्टी कार्यालय र कार्य समिति मात्र फरक रहेको उहाँले बताउनुभयाे । तर भ्रष्टाचार गर्ने र देशलाई लुट्ने बेला एउटै दल जस्तै हुने गरेको बताउनुभयो । उहाँले गठबन्धनको नाममा मुलुकको अस्तित्व समाप्त पार्ने र लोकतन्त्र धरापमा पार्न खोजिएको आरोप समेत लगाउनुभएको छ । नीति, विचार र सिद्धान्त नमिल्ने दलहरू एक ठाउँमा उभिनु भनेको मिलिजुली खानका लागि बाहेक मुलुककाहितका लागि केही उपलब्धी नहुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयाे,- ‘जति शासन गरेपनि १ हजार जना युवा-युवतीले रोजगारी पाउने ठाउँ खोल्न सकेका छैनन् । दैनिक हजारौंको संख्यामा युवायुवती विदेशीन बाध्य छन् । ‘मुलुक विदेशीहहको चंगुलमा फसाउने र लम्पसार पर्ने बाहेक केही हुन सकेको छैन ।’
उहाँले आगामी मंसिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गर्नुभयो । मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर लागि परेको बताउँदै आगामी निर्वाचनमा मत दिएर विजयी बनाउन समेत उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष लिङ्देनले यसअघि पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिका स्तरीय कार्यालयको उद्घाटन समेत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्